काठमाण्डौ। नेपाल एसबिआई बैंक तथा नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेसनल पेमेन्ट स्विचको पहिलो चरणको सञ्चालनका लागि सम्झौता भएको छ। 

नेसनल पेमेन्ट स्विचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल क्यूआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेटबीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुने छन्। यससम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। 

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत धवल भरत दभे, वरिष्ठ प्रबन्धक प्रविनमुनि बज्राचार्य तथा नेपाल क्लियरिङ हाउसका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीको उपस्थिति थियो।