काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सूचीकरण नै नभएको एउटा कम्पनीको मर्जर सम्बन्धी सूचना निश्कासन गरी अबैधानिक काम गरेको छ । 

हालै आइपीओ निश्कासन गरेको समाज लघुवित्तले नेप्सेसँग सूचीकरणको सम्झौता गरेको छैन । सूचीकरणको सम्झौता नै नभई सूचीकरण हुने क्रममै रहेको समाज लघुवित्तको मर्जरसम्बन्धी सूचना निश्कासन गरेर जग हसाउने काम गरेको छ । 

एक महिनाअघि मात्रै आइपीओ निष्कासन गरी नेप्सेसँग सूचीकरण गर्ने क्रममा रहेको समाज लघुवित्तले स्वदेशी लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता भएको सूचना नेप्सेले आफ्नो वेबसाइटमा अपलोड गरेको छ, जुन गैरकानूनी र अवैधानिक छ । 

बिहीबार समाज लघुवित्त वित्तीय संस्था र नेप्सेबीच सूचीकरणसम्बन्धी सम्झौता हुन गइरहेकोमा आज समाजले नेप्सेलाई एक पत्रमार्फत समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता सम्पन्न भएको सूचना पठाएको थियो । त्यो सूचना दायाँबाया नगरी नेप्सेले वेबसाइटमा डिस्प्ले गरिदियो । 

नेप्सेमा सूचीकरण भएपछि मात्र सूचीकृत कम्पनीले कर्पोरेट लगइन पाउँछ र संस्थाको गतिविधि सोही कम्पनीले नै नेप्सेको वेबसाइटमा अपलोड गर्ने अधिकार पाउँछ । 

नेप्सेका एक अधिकारीले आगामी बिहीबार समाज लघुवित्त र नेप्सेबीच सूचीकरणसम्बन्धी सम्झौता हुने जानकारी दिए । सूचीकरण हुने दिन नै समाज लघुवित्तले स्वदेशी लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता(एमओयू)समेत मागिने र सो विवरणसँगै मर्जरका कारण समाज लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको सूचना जारी गर्ने ती अधिकारीको भनाइ छ । दोस्रो बजारमा कारोबार पनि नभएको, तर लगानीकर्तालाई सामान्य जानकारी रहोस् भन्ने हेतूले सो सूचना अपलोड गरिएको ती अधिकारीले दाबीसमेत गरे ।

नेप्से स्रोतका अनुसार मंगलबार सो सूचनाको विषयमा नेप्सेस्थित कार्यालयमा सूचना अपलोड गर्ने कि नगर्ने भन्ने विषयमा निकै बहस पनि चलेको थियो । समाज लघुवित्त वित्तीय संस्था नेप्सेमा सूचीकृत नभएकाले सूचीकरण नै नभएको कम्पनीको सूचना जारी गर्दा गलत सन्देश जाने र यो बैधानिक पनि नभएको नेप्सेकै केही कर्मचारीको तर्कलाई पन्छाएर सूचना जारी गरिएको स्रोतको दाबी छ।