काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ पहिलो दिन नै २.४२ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले आज असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज दिउँसो पौने ४ बजेसम्म यो आईपीओमा ३ लाख ९० हजार ३७५ आवेदकबाट ५० लाख ७१ हजार ६४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा २.४२ गुणाले बढी हो। 

न्यादी हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थारु र तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। 

मागभन्दा बढी आवेदन परिसकेकोले यो आईपीओ निष्कासन बन्द असोज १९ गते हुनेछ। आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुने निश्चित भएको छ। 

कम्पनीले गत साउन ११ गते धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको थियो। सोहीअनुसार पहिलो चरणमा कम्पनीले गत भदौ १ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित लमजुङको मर्स्यायाङ्दी गाउँपालिकाका स्थानीय र लमजुङका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि गरी १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ।

कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ। कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ७.७३ वर्ष तथा डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १३.८२ वर्ष रहेको छ।