काठमाण्डौ । लामो समयको गिरावटपछि नेप्सेको चार्टमा आज ‘बुलिस हरामी’ क्यान्डल बनेको छ। 

जापानिज भाषामा ‘हरामी’को अर्थ ‘गर्भवती महिला’ भन्ने बुझिन्छ। जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा ‘गर्भवती महिला’को जस्तो आकृति बन्छ भने त्यसलाई ‘बुलिस हरामी’ क्यान्डल भनिन्छ। दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको आकृतिजस्तो देखिन्छ। (हेर्नुहोस् तस्बिरमा) 

यस्तो आकृति बुलिस हरामी र बियरिस हरामी भन्ने हुन्छन्। बुलिस हरामी चार्टको न्यून विन्दुमा बन्ने गर्छ। 

यदि रातो लामो क्यान्डलको ठीक पछाडि छोटो हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस हरामी भनिन्छ (हेर्नुहोस् कालो एरो)। यसले ट्रेन्ड परिवर्तनको संकेत गर्छ। 

यदि घटिरहेका बजारमा यस्तो आकृति बन्छ भने त्यसले बाटो परिवर्तन गर्ने संकेत गर्छ। यस्तो अवस्थामा खरिदकर्ता हावी भएका हुन्छन्।

यसविपरीत यदि पहिलो क्यान्डल लामो हरियो र दोस्रो क्यान्डल छोटो रातो बन्छ भने त्यसलाई ‘बियरिस हरामी’ भनिन्छ। यस्तो आकृति चार्टको माथि बन्छ र बिक्रीकर्ता हावी भएका हुन्छन्। यसले पनि ट्रेन्ड परिवर्तनको संकेत गर्छ। 

आज लामो समयपछि नेप्सेको चार्टमा ‘बुलिस हरामी’ क्यान्डल बनेको देखिन्छ। यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)