काठमाण्डौ । नेपाल पत्रकार महासंघसंगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्टिस्च्युटले पत्रकारहरुबीच राष्ट्रब्यापी लेख लेखन प्रतियोगिता सुरु गरेका छन्। 

वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरुको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहसपैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएका छन्। वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र विषयमा २५०० शब्द नबढ्ने गरी देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकार र स्तम्भकारहरुले लेख पठाउन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए। उत्कृष्ट १५ लेखका लेखकलाई प्रधानमन्त्रीको हातबाट प्रमाणपत्रका साथै प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ पुरस्कारका रुपमा क्रमशः रु. १ लाख, रु. ७५ हजार रु. ५० हजार, रु.२५ हजार र रु. १५ हजारका दरले सम्मान गरिनेछ। 

यसका साथै उत्कृष्ट १० लेखलाई प्रतिलेखबापत रु. १० हजारका दरले नगद तथा प्रमाणपत्रमार्फत प्रोत्साहन रकम उपलब्ध गराइने आयोजकले जनाएका छन्। 

नेपाल सरकारसहितको सहभागितामा २०८० साल वैशाख पहिलो हप्ता काठमाण्डौमा आयोजना हुने नेपाल बिजनेस समिटको पुर्वसन्ध्यामा जर्नालिष्ट फेलोसिप कार्यक्रम आयोजना गरिएको नेपाल बिजनेस इन्स्टिच्युटका अध्यक्ष विशाल गैरले जानकारी दिए। उनका अनुसार अर्थतन्त्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे पत्रकारहरुकोे सिर्जनशील क्षमताबाट प्राप्त लेखलाई प्रोत्साहन गरी राष्ट्रिय अर्थतन्त्रको सबलीकरण गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। 

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले यो प्रतियोगीतामा भाग लिन सक्ने बताए। उनका अनुसार सहभागी पत्रकारले आफू कार्यरत सञ्चार माध्यमको पुष्टि हुने पत्रकार परिचयपत्र, नियुक्तिपत्र वा मिडिया हाउसको पत्र (कुनै एक) सहित कतै पनि प्रकाशित नभएको खोजमूलक र तथ्यपरक लेख अनलाइनमार्फत २०७९ साल चैत १३ गतेभित्र https://nepalbusinesssummit.com/article-competition मा गएर आवेदन दिन सकिनेछ। 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महानिर्देशक डा. गोपाल तिवारीले लेखको मौलिकता, तथ्यपरकता र लेखले औँल्याएका भावी मार्गदर्शनलाई छनौटका आधार बनाइने जानकारी दिए। अनलाइन माध्यमबाट प्राप्त लेखहरुलाई ५ सदस्यीय छनौट समितिले विभिन्न मापदण्डका आधारमा छनौट गर्नेछ र छनौट भएका उत्कृष्ट लेखहरुलाई नेपाल बिजनेस समिटको उद्घाटनसत्रमा प्रधानमन्त्रीको हातबाट पुरस्कृत गरिने जनाइएको छ।