काठमाण्डौ । सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आज साँझ पदभार ग्रहण गरेका छन्। 

पौडेलले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएलगत्तै उनी अर्थ मन्त्रालय पुगेका थिए। 

पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने पहिलो निर्णय गरेका छन्। उनले अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा रहेको अर्थतन्त्रलाई ट्रयाकमा फर्काउन लागिपर्ने प्रतिबद्धता गरे। ‘अर्थतन्त्र सुरक्षित ठाउँमा फर्काउनका लागि मेहनत गर्नुपर्छ’, उनले भने, ‘यसका लागि विज्ञ र सरोकारवालाका सुझाव लिएर अगाडि बढ्छु।’ 

अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो।