काठमाण्डौ । अब ४० वर्षमुनिका महिला एक्लै विदेश भ्रमणमा जाँदा परिवारको सहमतिसँगै वडाको सिफारिस अनिवार्य चाहिने नियम लागू हुने भएको छ। 

अध्यागमन विभागले ‘अध्यागमन कार्यविधि, २०६५’ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्दै ४० वर्षमुनिका महिलाको हकमा यस्तो नियम लागू गर्न लागेको हो। 

कार्यविधि संशोधन प्रस्ताव विभागले ३ दिनअघि नै गृह मन्त्रालयमा पठाइसकेको छ। गृहको कानुन शाखामा आवश्यक छलफल भई कार्यविधि चाँडै लागू हुने विभागले जनाएको छ।

विदेशमा मानव तस्करी बढेको, श्रम शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधोपचार नपाएर बिजोग भएकोजस्ता घटना बढ्न थालेपछि एक्लै विदेश जान चाहने ४० वर्षमुनिका महिलाको हकमा यस्तो नियम लागू गर्ने तयारी विभागले गरेको छ। कतिपय महिला परिवारको सहमतिबिनै पनि विदेश जाने र पछि समस्या पर्ने घटना बढ्न थालेपछि कडाइका साथ यो लागू हुने विभागको भनाइ छ। 

यसैगरी त्यसरी विदेश जाने महिलाका लागि १५ लाखसम्मको निर्जीवन दुर्घटना बीमा अनिवार्य बनाउनुपर्नेछ।

विगभाका अनुसार ४० वर्षमुनिका महिला परिवारका सदस्य वा पतिसँग भ्रमणमा जाँदा भने वडाको सिफारिस र बीमा अनिवार्य छैन।