काठमाण्डौ । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नवगठित सरकारले पहिलो प्राथमिकतामा बैंक ब्याजदरलाई राख्नुपर्नेमा जोड दिएको छ।
संकटमा रहेको अहिलेको अर्थतन्त्रलाई सुधारात्मक बाटोतर्फ अघि बढाउन सरकारले न्यूनतम २ प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकसँग समन्वय गर्नुपर्ने परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताएका हुन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई सोमबार स्वागत गर्दै अध्यक्ष अग्रवालले तरलता संकुचन हुँदै जाँदा अर्थतन्त्रका गतिविधिहरु रोकिन थालेको बताए। तरलता संकुचन हुँदा बैंकिङ क्षेत्रले मागअनुसार कर्जा प्रवाह गर्न नसक्दा ब्याजदर उच्च भएको उनको भनाइ छ।
बैंक ब्याजदर कारण नै अर्थतन्त्र चलायमान हुन नसकेकाले नयाँ सरकारलाई २ प्रतिशत विन्दुले ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउन अग्रवालले सुझाव दिए। ‘पछिल्लो समय अर्थतन्त्रमा चिन्ता फैलिएको र व्यवसाय धराशायी बन्दै गएको अवस्था छ’, उनले भने, ‘विशेषगरी लगानीयोग्य रकमको अभावका कारण अर्थतन्त्र खुम्चिरहेको छ।’
हाल बजारमा सबै किसिमका उत्पादनको समग्र माग घटेको अग्रवालले बताए। ‘उद्योगहरुको माग ३० प्रतिशतले घटेको छ’, उनले भने, ‘एफएमसीजी, पर्यटन र सूचना प्रविधिबाहेकका सबै क्षेत्रमा तरलता अभावका कारणले माग घटेसँगै व्यवसाय नै धराशायी बनेकोछ। उद्योगी–व्यापारीका लागि यो ठूलो समस्या र चिन्ताको विषय हो।’
यही कारणले हाल मुलुकभरका कतिपय उद्योग कलकारखाना बन्द भइरहेको अध्यक्ष अग्रवालले बताउ। ‘त्यसकारण पनि अर्थतन्त्र चलायमान बनाउन ब्याज घटाउनुपर्छ’, उनले भने, ‘यसका लागि परिसंघले सरकारसँग पहल गरिरहेको छ।’
परिसंघका उपाध्यक्ष कृष्ण शर्माले अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रका समस्या सरकारसमक्ष पुर्याउन मिडियाको भूमिका रहेको बताए। सरकारसँग सहकार्य गर्दै अर्थतन्त्र र उत्पादन क्षेत्रसँग एकता गरेर अघि बढ्ने उनको भनाइ थियो।
कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले असल व्यवसाय विकासका लागि सरकार, मिडिया र निजी क्षेत्रसँगै बढ्ने बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago