काठमाण्डौ । नेप्से परिसूचकमा गत तीन सातादेखिको गिरावटले साताको चौथो दिन बुधबार पनि निरन्तरता पाएको छ।
कोरोना भाइरसको सन्त्रास र घटिरहेको बजारमा लगानीकर्ताहरुको मनोबल उठ्न नसक्दा नेप्से परिसूचक र कारोबार रकममा समेत गिरावट आइरहेको छ।
केही साताअघि बढ्दो बजारमा अनेकन चलखेल गरी कारोबार रकम ५ अर्ब नजिक पुग्दा टाठा र बाठा लगानीकर्ताले आफ्नो खातामा नै नभएको सेयर बिक्री गर्दै अस्वाभाविक ढंगले नाफा कुम्ल्याए। यसमा लगानीकर्ता संघका केही नेता र पुराना ब्रोकर हाउसका चलाख कर्मचारीहरुले सेयर खरिदबिक्रीमा निकै चलाखीपूर्ण कारोबार गरेको स्रोतको दाबी छ।
आजको दिन धितोपत्र कारोबार चलिरहँदा नेप्से परिसूचकमा सुधार हुने छाँटकाँट करिब ३ बजेतिर देखिए पनि अन्तिम समयमा आएर गिरावट आयो। घट्दो बजारमा कम्पनीका सेयरमूल्य गिरावट आउँदै जाँदा लगानीकर्ताहरुमा द्विविधा र त्रासले डेरा जमाउने भएकाले आज परिसूचकमा सुधार आउन सकेन।
आजको दिन नेप्से परिसूचक हिजोको तुलनामा १४.२६ अंकले घटेर १२५५.८० को विन्दुमा झरेको छ। यसैगरी सेन्सेटिभ इन्डेक्स भने २.८० अंक नकारात्मक बन्दा २७१.७९ को विन्दुमा खुम्चिन पुग्यो।
यो दिन नेप्से परिसूचक नकारात्मक हुँदा व्यापार उपसमूहबाहेक अन्य ११ उपसमूहमा रातो पोतियो। बैंकिङ उपसमूह १५.८२ अंक, होटल्स् १९.१६ अंक, विकास बैंक ११.७१, जलविद्युत् ७.४६ अंक, वित्त ३.८४ अंक, निर्जीवन बीमा ११२.७४ अंक, उत्पादन तथा प्रशोधन २५.१९ अंक, लघुवित्त १८.२३ अंक, जीवन बीमा १३७.०६ अंक र म्युचुअल फन्ड ०.०३ अंकले घट्यो। यो दिन व्यापार उपसमूहमा भने २४.३८ अंकको बढोत्तरी देखियो।
धेरै कारोबार गर्ने कम्पनी
साता कारोबारको चौथो दिन बुधबार नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १७२ कम्पनीका ३४ लाख ८३ हजार २२१ कित्ता सेयर १ अर्ब १८ करोड ४४ लाख १६ हजार ८७८ रुपैयाँमा कारोबार भयो।
आजको नेपाल लाइफ इन्स्योरेन्सले ९ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार गर्न सफल भयो। त्यस्तै एनआईसी एसिया बैंक, एनएमबी बैंक र ग्लोबल आईएमई बैंकले क्रमशः ८ करोड ३३ लाख, ५ करोड ९० लाख र ४ करोड १४ लाख रुपैयाँबराबरको कारोबार गरे।
यसैगरी शिवम् सिमेन्टले ३ करोड १४, नबिल बैंकले ३ करोड १२ लाख, नेपाल बैंक लिमिटेडले ३ करोड ९ लाख, हिमालयन डिस्टिलरीले २ करोड ७९ लाख, नागरिक लगानी कोषले २ करोड ४३ लाख र एभरेस्ट बैंकले २ करोड ३० लाख रुपैयाँबराबरको कारोबार गरेर सर्वाधिक कारोबार गर्ने १० कम्पनीभित्र पर्न सफल भए।
धेरै कमाउने र गुमाउने
यो जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरमूल्यमा करिब १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।
आज कालिका पावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीको गिरावट देखियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago