काठमाण्डौ । सेयर कारोबार मापन नेप्से परिसूचकमा आज सोमबार झिनो करेक्सन आएको छ। 

गत साता नेप्से २००० र २१०० विन्दुभित्र घुमिरहेकामा यो साताको पहिलो दिन आइबार बजार २१ विन्दुलाई ब्रेक गरी अघि बढ्ने प्रयासमा सफल भए पनि आज सोमबार भने परिसूचकमा झिनो करेक्सन आएको हो। आज नेप्से परिसूचक ६.३६ अंकले घटेर २१६९.०४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७३ अंकले घटेर ४१५.१५ को विन्दुमा सीमित बनेको छ।

गत साता बजार स्थिरप्रायः रहेको थियो। त्यति बेला सेयर खरिद गरेका अल्पकालीन कारोबारीले नेप्सेको २०० अंक हाराहारीको वृद्धिमा आज सेयरको आपूर्ति बढाइ प्रफिट बुक गर्दा बजारले सानो करेक्सन लिएको विश्लेषकहरु बताउँछन्।

बजार बढ्छ भन्ने जानकार हुँदाहुँदै पनि राजनीतिक माहौलमा भएको गडबडी र पुस मसान्तको असर भने बजारमा देखिन सक्ने विश्लेषकहरु दाबी गर्छन्। अघिल्लो साता आक्रमक रुपमा सेयर खरिद गरेका ब्रोकर र ठूला लगानीकर्ता तथा संस्थागत लगानीकर्ता भने अझै ‘पर्ख र हेर’ कै रणनीतिमा रहेको विश्लेषकहरु बताउँछन्।

केही सीमित कम्पनी जस्तै– नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, शिवम् सिमेन्ट्स, एसटीसीलगायतका सेयरमा अस्वभाविक सेयरमूल्य उचाली इन्डेक्स उचाल्ने र उच्च विन्दुमा बिक्री गर्ने दाउका कारण आगामी दिनमा खरिदभन्दा बिक्री हावी भई बजारले करेक्सन लिने विश्लेषकहरुको जिकिर छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ५२.४७ अंकले उकालो लागेको छ। अन्य समूह ९.८५ अंकले बढेको आज विकास बैंक समूहमा ८.४२ अंक, जलविद्युत् समूहमा २.१४ अंक र वित्त समूहमा ५.६३ अंकको बढोत्तरी भएको छ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १००.५२ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह ७६.३९ अंकले घटेको यो दिन बैंकिङ समूहमा ११.२ अंक, व्यापार समूहमा ३.७७ अंक, होटेल्स् समूहमा ०.१५ अंक र लघुवित्त समूहमा ४.७३ अंकको गिरावट आएको छ भने म्युचुअल फन्ड समूहमा ० प्रतिशतले स्थिर बनेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड १६ लाख ४३ हजार ४२९ कित्ता सेयर ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ४६ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ४० करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको ३७ करोड ७८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २५ करोड ३३ लाख रुपैयाँ, एनसीसी बैंकको २५ करोड ७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २३ करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २१ करोड ५ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १९ करोड ५७ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १६ करोड ३७ लाख रुपैयाँ र सिद्धार्थ बैंकको १६ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज दुई कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। जानकी फाइनान्स र किसान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा पनि ८ प्रतिशतको हाराहारीमा बढोत्तरी भएको छ।

आज नेसनल माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ। यो कम्पनीको सेयरमूल्य झन्डै ६ प्रतिशतले घटेको हो।