काठमाण्डौ । साताको तेस्रो दिन आज मंगलबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ।

आज नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.४९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले ओरालो लागेर ४१३.६८ को विन्दुमा सीमित बनेको छ। आज कारोबार रकम पनि घटेर ४ अर्ब ५६ करोड रुपैयाँ हाराहारी भएको छ।

केही सीमित कम्पनीको सेयरमूल्य बढाई सूचक माथि तानेर लैजाने योजनामुताबिक नै बजारको दिशा तय भइरहेको विश्लेषकहरु बताउँछन्। केही समयअघि बैंकबाट सहज ढंगले सस्तो ब्याजदरमा प्रायः लगानीकर्ताले करोडौं रकम सेयर धितोकर्जामा लिएको र ओडीको प्रयोगसमेत सेयर बजारमा हुन थालेपछि कारोबार रकम १० अर्ब रुपैयाँ नजिक भएको थियो। अहिले पुस मसान्तसम्म त्रैमासिक ब्याज भुक्तानी गर्नुपर्ने भएकाले समेत लगानीकर्ताले प्रफिट बुक गर्र्दै सेयर बिक्रीको आपूर्ति बढाइरहेको ब्रोकरहरु दाबी गर्छन्। 

हाल बीटी लोनमा समेत कडाइ भएको र बजारको अधिकांश पैसा सेयर धितोकर्जाबाट आएकाले अल्पकालमा अनपेक्षित बजार बढेको जिकिर गरेका ब्रोकरहरु आगामी दिनमा भारी करेक्सनको मोड लिन दाबीसमेत गर्छन्। अफ सिजनको सुरुआत भएसँगै अब बजार केही समयका लागि सुस्ताउने उनीहरुको तर्क छ। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ९ समूहमा रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूह सबैभन्दा ५७.९१ अंकले उकालो लागेको छ। जलविद्युत् समूह ५०.५९ अंकले बढेको आज विकास बैंक समूहमा २.९३ अंकको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सबैभन्दा १४६.५७ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह ४६.६७ अंकले घटेको यो दिन बैंकिङ समूहमा ९.२३ अंक, होटेल्स् समूहमा २०.९५ अंक, वित्त समूहमा १.९५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १६.६५ अंक, अन्य समूहमा ५.६६ अंक, लघुवित्त समूहमा ५.९४ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २०६ कम्पनीका १ करोड ८ लाख ९ हजार ६२५ कित्ता सेयर ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँमा कारोबार भएको छ।

आज शिखर इन्स्योरेन्सको सर्वाधिक ६९ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको यो दिन नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ३५ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको २० करोड ६७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १६ करोड ३९ लाख रुपैयाँ, नेपाल टेलिकमको १६ करोड ४ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ११ करोड ७७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड ६१ लाख रुपैयाँ, नबिल बैंकको १० करोड ३ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ८ करोड ९७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो जनउत्थान सामुदायिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र हिमालयन दोलखा हाइड्रोपावर र रिडी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको बढोत्तरी भएको छ।

यो दिन साल्ट ट्रेडिङका सेयरधनीले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आएको छ।