काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक आज सोमबार झिनो अंकले बढेको छ।

धितोपत्र कारोबार हुने दोस्रो दिन आज सोमबार परिसूचक ३.७ अंकले बढेर नेप्से २२३९.४२ अंक कायम भएको हो। सूचकमा झिनो वृद्धि भए पनि कारोबार रकम भने हिजोको तुलनामा घटेर साढे ५ अर्ब रुपैयाँमा सीमित भएको छ।

अघिल्लो सातादेखि निरन्तर बढेको बजार आज भने कारोबार समयमै नेप्से परिसूचक ओरालो गति लिइसकेको थियो। तर अन्तिम समयमा बजार पुनः लयमा फर्किंदै झिनो अंकले बढेको हो। 

पछिल्लो समयमा अनलाइन कारोबार प्रणालीमा अभ्यस्त अल्पकालीन कारोबारीहरु सूचक बढेसँगै अल्पकालमा नाफा बुक गरेकै कारणसमेत बजारमा बिक्री चाप बढेको विश्लेषकहरुको भनाइ छ। कालान्तरमा बजार बढ्ने सुनिश्चित माहौल रहे पनि अल्पकालीन कारोबारीहरुकै कारणले बीच–बीचमा सानातिना करेक्सन आउन सक्ने विश्लेषकहरु जिकिर गर्छन्।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने बाँकी ५ वटामा रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूह सबैभन्दा बढी १७६.९३ अंकले उकालो लागेको छ। बीमा समूह १६१.२९ अंकले बढेको आज बैंकिङ समूहमा २.८७ अंक, विकास बैंक समूहमा २८.५९ अंक, जलविद्युत् समूहमा ३.३८ अंक, वित्त समूहमा ११.५३ अंक र म्युचुअल फन्ड समूहमा ०.०५ अंकको बढोत्तरी भएको छ।

आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी ४१.३२ अंकको गिरावट आएको छ। अन्य समूह १४.६९ अंकले घटेको यो दिन व्यापार समूह १३.३ अंक, होटेल्स् समूह ४.५६ अंक र लघुवित्त समूह ९.२३ अंकले ओरालो लागेका छन्।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड ३५ लाख ६० हजार ७८३ कित्ता सेयर ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९३ रुपैयाँमा कारोबार भएको छ।

यो दिन सिद्धार्थ बैंकको सर्वाधिक ४२ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु बैंकको २५ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको आज एनएमबी बैंकको १८ करोड ६९ लाख रुपैयाँ, सिभिल बैंकको १८ करोड २९ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १८ करोड ५ लाख रुपैयाँ, कुमारी बैंकको १६ करोड ३२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १६ करोड ३० लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १४ करोड ६८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५४ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको १४ करोड १९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज चारवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। आरम्भ चौतारी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि ८ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन मल्टीपर्पस फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।