काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक आज मंगलबार दोहोरो अंकले बढेको छ। आज कारोबार रकम भने घटेर ५ अर्ब रुपैयाँ हाराहारीमा सीमित बनेको छ। 

आज नेप्से परिसूचक २८.३१ अंकले बढेर २२६७.७३ को उचाइमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.६९ अंकले बढेर ४३३.२८ को विन्दुमा उक्लिएको छ।

कारोबारको पहिलो प्रहर नेप्सेले झिनो अंकले ओरालो गति लिएकोमा पछि बिस्तारै सम्हालिँदै बजारले उकालो गति समातेको हो। वाणिज्य बैंकको दबदबा चलिरहेका बेला लगानीकर्ताहरु निर्जीवन बीमातर्फ झुम्मिएका देखिन्छन्। लाभांश प्रस्तावले निर्जीवन बीमा समूह नतानिए पनि बजारमा यस्ता कम्पनीका सेयर आपूर्ति कम भएकाले पुँजीगत लाभ प्राप्तिका लागि लगानीकर्ताको रोजाइमा निर्जीवन बीमा कम्पनीका सेयरहरु परेको विश्लेषकहरु बताउँछन्।

महँगा कम्पनीका सेयरमा स्थिर आकर्षण जनाइरहेको वर्तमान परिस्थितिमा लगानीकर्ताको नजर बढ्न बाँकी र सस्ता कम्पनीमा पर्न थालेको विश्लेषकहरुको ठहर छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूह सबैभन्दा बढी ३७६ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह २७३.२७ अंकले बढेको आज बैंकिङ समूहमा १४.५४ अंक, होटेल्स् समूहमा ९.९३ अंक, विकास बैंक समूहमा १९.४ अंक, जलविद्युत् समूहमा ६०.९१ अंक, वित्त समूहमा २३.१४ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६.८९ अंक, अन्य समूहमा ६.४८ अंक, लघुवित्त समूहमा ५३.१९ अंक र म्युचुअल फन्ड समूहमा ०.१ अंकको बढोत्तरी भएको छ।

आज व्यापार समूहमा भने १५.४ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता सेयर ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँमा कारोबार भएको छ।

आज प्रिमियर इन्स्योरेन्सको सर्वाधिक २९ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु बैंकको १६ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन माथिल्लो तामाकोशीको १५ करोड ७१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ५५ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १४ करोड ९७ लाख रुपैयाँ, सिभिल बैंकको १४ करोड १ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १३ करोड २२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १२ करोड ३८ लाख रुपैयाँ, नेपाल टेलिकमको १२ करोड २२ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको १० करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, माथिल्लो ताकोशी, प्रभु लाइफ इन्स्योरेन्स र समृद्धि फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज गोर्खाज फाइनान्सको सेयरमूल्य ९ प्रतिशत बढीले बढ्दा नारायणी डेभलपमेन्ट बैंको भने ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन नेपाल हाइड्रो डेभलपर्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।