काठमाण्डौ । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर फेरि नयाँ उचाइमा पुगेको छ। 

आज परिसूचक १७.३१ अंकले बढेर २३३२.३२ को विन्दुमा उक्लिएको हो। यो परिसूचकले चुमेको हालसम्मकै उच्च विन्दु हो। 

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१८ अंकले बढेर ४४५.६१ विन्दु उक्लिएको छ। आज कारोबार रकम हिजोको तुलनामा थोरै घटेर ६ अर्ब ३१ करोड रुपैयाँमा सीमित बनेको छ।  

आज लघुवित्त र विकास बैंक समूहका सेयरमा चमक आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणमा राम्रो नतिजा आउने सभ्मावना देखेर लगानीकर्ताहरु यो समूहमा आकर्षित भएका जानकारहरु बताउँछन्। 

आज बैंकिङ समूह र बीमा समूहका कम्पनीको सेयर कारोबार उच्च देखिएको छ। बढ्दो बजारमा प्रफिट बुक गर्नेहरुले धमाधम सेयर बेच्दा यी समूहका कम्पनीहरुमा उच्च कारोबार भएको विश्लेषकहरु बताउँछन्।

त्यसो त कम्पनीहरुले अब धमाधम वित्तीय विवरण सार्वजनिक गर्ने हुँदा पनि सेयर कारोबार अझै बढ्नसक्ने बताइएको छ। 

त्यसैगरी बैंकको ब्याजदर घटेकै कारण लगानीकर्ताहरुको मनोबल बढ्नुका साथै सेयरमा लगानी बढाउँदै लानु पनि बजार बढ्नुको प्रमुख कारण रहेको विश्लेषकहरु बताउँछन्। नेप्से वृद्धिमा कारोबार रकमले समेत साथ दिएमा परिसूचकले अझै नयाँ उचाइ चुम्दै जाने उनीहरुको ठहर छ। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूह सबैभन्दा बढी १९९.४७ अंकले बढेको छ। व्यापार समूह १८१.०४ अंकले उकालो लागेको आज निर्जीवन बीमा समूहमा १२६.१३ अंक, बैंकिङ समूहमा २.८१ अंक, विकास बैंक समूहमा ५०.४५ अंक, वित्त समूहमा २२.५८ अंक, होटेल्स् समूहमा ११३ अंक, उत्पादन तथा प्रशोधन समूहमा २१.४० अंक, लघुवित्त समूहमा १००.१० अंक, अन्य समूहमा ११.४२ अंक र म्युचुअल फन्ड समूहमा ०.२५ अंकको बढोत्तरी भएको छ।

यता, आज जलविद्युत् समूहको उपसूचक भने ११.५२ अंकले ओरालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६६ रुपैयाँमा कारोबार भएको छ। 

आज प्रभु बैंकको सर्वाधिक ३३ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २६ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एनआईसी एसिया बैंकको २० करोड २४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २२ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १२ करोड ८० लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको १२ करोड ६९ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्सको ११ करोड १६ लाख रुपैयाँ, एभरेस्ट बैंकको १० करोड ९२ लाख रुपैयाँ र फस्ट माइक्रोफाइनान्सको १० करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज १६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन सिभिल लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा विशाल बजार कम्पनी, गोर्खाज फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, समिट लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सामुदायिक लघुवित्त, तारागाउँ रिजेन्सी, कर्पोरेट डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट, नेपाल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो। 

यो दिन प्रोग्रेसभिस फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। 

आज समृद्धि फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।