अघिल्ला साताहरुमा निरन्तर उकालो लागिरहेको धितोपत्र बजार यो साताको सुरुआतीदेखि नै निरन्तर ओरालो लागेकोमा आज मंगलबार भने परिसूचक बढेको हो। परिसूचकमा वृद्धि देखिए पनि कारोबार रकममा निरन्तर ओरालो यात्रामा छ।
आज नेप्से परिसूचक ७.३५ अंकको बढोत्तरीका साथ १४९५.१५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८३ अंकको वृद्धिका साथ २९९.४७ को उचाइमा पुगेको छ।
सरकारले निषेधाज्ञालाई केही खुकुलो बनाउने र जनजीवन सहज बनाउने आशामा लगानीकर्ताहरुको मनोबलमा केही थोरै सकारात्मक प्रभाव परेको देखिन्छ। तर सेयरको मागभन्दा आपूर्ति हावी भइरहेको र लगानीकर्ताहरुले प्रफिट बुक गरेकै कारण बजार भनेजस्तो उक्लिन नसकेको विश्लेषकहरु बताउँछन्।
लगानीकर्ताहरुको मनोबलमा ब्रेक लागेकै कारणसमेत कारोबार संख्या पनि दैनिकजसो घटी २३ हजार पटकमा सेयर कारोबार भएको छ। हालसम्मकै सर्वाधिक कारोबार संख्या ४५ हजार पटकको हाराहारी हो।
दिनभरिको परिसूचक नियाल्दा १५०० विन्दु छोए पनि अधिक बिक्री चाप कायम रहेकाले सूचक पुनः ओर्लेको हो।
साल्ट ट्रेडिङ कम्पनी (एसटीसी) को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। एसटीसीको सेयरमूल्य एकैदिन ३०८ रुपैयाँले बढेर प्रतिकित्ता ३३९० रुपैयाँ कायम भएको छ। यो कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ कै नाफाबाट २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिने र सो लाभांश साधारणसभाबाट अनुमोदन भएपश्चात निकट सयममै बुक क्लोज मिति तय हुने तयारी भएकाले पनि यो कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका हुन्। उसो त यो कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश भने घोषणा गर्न बाँकी नै छ।
आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन व्यापार समूहमा सबैभन्दा बढी ८१.३ अंकको उछाल आएको छ। उत्पादन तथा प्रशोधन समूहमा ८०.६४ अंकको बढोत्तरी भएको यो दिन निर्जीवन बीमा समूहमा ७३.४३ अंक, विकास बैंक समूहमा ७.०४ अंक, जलविद्युत् समूहमा २१.१ अंक, वित्त समूहमा ४.४९ अंक, अन्य समूहमा १२.५६ अंक, लघुवित्त समूहमा १९.१६ अंक, जीवन बीमा समूहमा ४८.५९ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको वृद्धि भएको छ।
यो दिन बैंकिङ समूहमा २.८५ अंक र होटेल्स् समूहमा ४.९६ अंकको गिरवाट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ४१ लाख ८० हजार ८१६ कित्ता सेयर १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ रुपैयाँमा कारोबार भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २७ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भयो। नागरिक लगानी कोषको१२ करोड २२ लाख रुपैयाँको कारोबार भएको यो दिन नेको इन्सुरेन्सकोे ९ करोड ९१ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड २८ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ८ करोड २६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९७ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ४ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड ३८ लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड २० लाख रुपैयाँ रुपैयाँ, शिखर इन्स्योरेन्सको ३ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीका सेयरधनीहरुले उच्च कमाए। साल्ट ट्रेडिङ कर्पोरेसन, उन्नति सहकार्य लघुवित्त र एनआरएन लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लागेको हो। यो दिन जोशी हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यो दिन एनआरएन इन्फ्रास्टक्चरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लाग्यो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago