काठमाण्डौ । यो साता कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिका साथ बजार बन्द भएको छ। 

यो साताको सुरुदेखि नै करेक्सन आइरहेको परिसूचक हिजोबाट उकालो लाग्ने क्रम सुरु भएको हो। यसले आज पनि निरन्तरता पाउँदै परिसूचक दोहोरो अंकको वृद्धि भएको छ। 

आज नेप्से परिसूचक १३.०५ अंकको बढोत्तरीका साथ १५०८.२० को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.१९ अंकको वृद्धिका साथ १९९.६६ विन्दुमा उक्लिएको छ। 

परिसूचकले उकालो लय समात्दै जाँदा कारोबार रकममा समेत सुधार भएको छ ।


बजारको करेक्सन केही दिन भएपछि आगामी दिन बजारले अब उकालै गति समात्ने विश्लेषकहरुको दाबीसमेत छ । जानकारहरुले अब लघुवित्त र बीमा समूहका कम्पनीहरुको मूल्यमा उछाल आउने जिकिर समेत गरेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई लाभांश वितरणमा कडाइ गरेका कारण आज बुधबार लगानीकर्ताहरु अन्य समूहमा सिफ्ट भएका छन्। जसका कारण बीमा र लघुवित्त समूहका अधिकांश कम्पनीहरुका सेयरमूल्यमा उछाल आएको छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै २६१.८१ अंकको उछाल आएको छ। जीवन बीमा समूहमा १६६.७७ अंकको बढोत्तरी भएको आज व्यापार समूहमा ३४.९ अंक, होटेल्स् समूहमा २०.४१ अंक, जलविद्युत् समूहमा ७.०२ अंक, वित्त समूहमा १.४९ अंक, उत्पादन तथा प्रशोधन समूहमा २४.२४ अंक, अन्य समूहमा १९.३४ अंक, लघुवित्त समूहमा ५५.४४ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकको बृद्धि भएको छ। 

आज बैंकिङ समूहमा १.८९ अंक र विकास बैंक समूहमा ५.४८ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९४ कम्पनीका ५७ लाख ९८ हजार ५३२ कित्ता सेयर २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १८६ रुपैयाँमा कारोबार भएको छ। 

आज पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २२ करोड ३१ लाख रुपैयाँको कारोबार भयो। 

यसैगरी नागरिक लगानी कोष (सीआईटी)को १८ करोड ६४ लाख रुपैयाँ, शिवम सिमेन्टको १२ करोड ६३ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १२ करोड ३६ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १२ करोड १३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ८० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ९२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ७ करोड ७२ लाख रुपैयाँ, नेपाल बैंकको ६ करोड ८१ लाख रुपैयाँ र फस्र्ट माइक्रोफाइनान्सको ५ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाए 
आज दुई बीमा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ। 

यो दिन आरम्भ चौतारी लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशत बढीले वृद्धि भएको छ।

आज एनआरएन इन्फ्रास्टक्चरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएको नेगेटिभ सर्किट नै लागेको छ।