काठमाण्डौ । धितोपत्र कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा झिनो अंकको करेक्सनका साथ बजार बन्द भएको छ। आज कारोबार रकमसमेत घटेर साढे २ अर्ब रुपैयाँबराबरको भएको छ। 

आज नेप्से परिसूचक ३.६३ अंकको गिरावटका साथ १५८२.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकको वृद्धिका साथ ३१२.४६ को विन्दुमा उक्लिएको छ। 

परिसूचकको निकै उत्तारचढावपूर्ण अवस्थाबाट गुज्रेको आजको दिन नेप्से परिसूचक झन्डै १६ सय नजिकसमेत पुग्यो। तर लगानीकर्ताहरु प्रफिट बुक गर्नतिर लाग्दा परिसूचकमा सामान्य करेक्सन आएको विश्लेषकहरु बताउँछन्। 

आज पनि हाइड्रोपावर र विकास बैंक समूह चम्किएका छन्। नयाँ लगानीकर्ताहरुको अत्याधिक भीड सेयर बजार प्रवेश गरेसँगै तुलनात्मक रुपमा हाइड्रोपावर र विकास बैंकका सस्ता सेयरहरु उठाउन थाल्दा ती समूहमा उछाल आएको विश्लेषकहरु बताउँछन्। 

विगतमा हाइड्रो भन्नेबित्तिकै नाक खुम्च्याउने लगानीकर्ताहरु हिजोआज बैंक समूहमा नाक खुम्च्याउन थालेका छन्। तर प्रतिफल र बजारमूल्यका आधारमा भने बैंकलाई निकै सुरक्षित लगानी मानिन्छ। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छायो भने ७ वटामा रातो पोतिएको छ।

यो दिन जलविद्युत् समूहमा सबैभन्दा बढी २७.३९ अंकको उछाल आएको छ। विकास बैैंक समूहमा २४.४९ अंकको बढोत्तरी आएको आज होटेल्स् समूह ४.१५ अंक, म्युचुअल फन्ड समूह ०.०९ अंक र अन्य समूह १.२६ अंकले बढेका छन्। 

आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै ११५.१८ अंकको गिरावट आएको छ। जीवन बीमा समूहमा ८१.३४ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह ३.८९ अंक, वित्त समूह ४.३१ अंक, उत्पादन तथा प्रशोधन समूह ५३.३३ अंक, लघुवित्त समूह १०.८१ अंक र व्यापार समूह ७.१५ अंकले घटेका छन्। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९३ कम्पनीका ९५ लाख १८ हजार ७६५ कित्ता सेयर २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८८ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको ११ करोड ७३ लाख रुपैयाँको कारोबार भएको यो दिन अरुण भ्याली हाइड्रोपावरको १० करोड ७० लाख रुपैयाँ, कुमारी बैंकको ९ करोड ८९ लाख रुपैयाँ, नेपाल बैंकको ९ करोड ८३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड ५ लाख रुपैयाँ, अपी पावरको ८ करोड ३ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड ८५ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ७ करोड ७९ लाख रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज दुईवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। राईराङ हाइड्रोपवार र कामना सेवा विकास बैंकको सेयरमूल्यमा १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो। यो दिन नेपाल फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएको छ। 

यो दिन प्रोग्रेसिभ फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।