काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि बजार दोहोरो अंकले बढेको छ।
सुरुआती चरणमा निकै आक्रमण ढंगले बढेको बजार मध्याह्नपछि घट्दै गए पनि अन्तिम समयमा केही बढेर बन्द भएको हो। आज नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेका हालसम्मकै उच्च विन्दु हो।
यो राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.०९ अंकले बढेर ४७३.५३ को उचाइमा पुगेको छ। आज कारोबार रकम १० अर्ब माथि भएको छ।
बजार जानकार मेघनाथ निरौलाले साताको पहिलो दिन करेक्सन व्यहोरेको बजार सम्हालिएर अगाडि बढिरहेको बताए। बजार करेन्सन हुँदै उकालो यात्रातिर लम्किने उनको दाबी छ। ‘अहिले लगानीकर्ताको उच्च मनोबल र नियामक निकायको सकारात्मक कदमले बजार बढ्न टेवा पुगिरहेको छ’, उनले भने, ‘ठूलो भोल्यूममा कारोबार हुनुले पनि बजारलाई अगाडि बढाउन मद्दत पुगिरहेको छ।’
निरौलाले बैंकिङ समूहमा चमक देखिन थालेकोले बजार छिटै ३००० विन्दुको यात्रा तय गर्ने सम्भावना रहेको बताए। ‘अब बजारलाई बैंकिङ समूहले नै उचाल्ने हो’, उनले भने।
बुलिस ट्रेन्डमा राम्रा र बलिया कम्पनी लगानी गर्दा प्रतिफल राम्रो प्राप्त हुने निरौलाको भनाइ छ। लगानीकर्ताहरुले यस्तो बेला सोचविचार गरेर सेयरमा पैसा हाल्नुपर्ने उनको सुझाव छ।
निरौलाले यसपालिको बुलिस ट्रेन्ड अलि फरक ढंगको भएकोले लगानीकर्ताहरुलाई प्रफिट बुक गर्दै सुरक्षित तरिकाले सेक्टरवाइज लगानी गर्न पनि सुझाव दिएका छन्।
सक्रिय लगानीकर्ता ध्रुव लामिछाने बैंक ब्याजदर घट्नु, मुद्दति निक्षेपमा ६ प्रतिशतभन्दा बढी ब्याज नपाइने हुँदा यतिबेला लगानीकर्ताहरुले सेयर बजारमै पैसा खन्याइरहेकोले बजार निश्चित रुपमा माथि जाने बताउँछन्। ‘अहिले बजारबाट लगानीकर्ताहरुले कम्तीमा पनि १५ प्रतिशत प्रतिफल पाइरहेका छन्’, उनले भने।
लामिछानेले पनि बजार निश्चित रुपमा ३००० विन्दु माथि पुग्ने दाबी गरे। ‘बैंकहरुको सेयरमूल्य बढ्न अझै बाँकी छ, अब बैंकले बजारले उचाल्ने हो’, उनले भने, ‘त्यसैले लगानीकर्ताहरुले अन्य सेक्टरबाट कमाएको पैसा राम्रा र सस्ता बैंकहरुमा लगानीकर्ता सुरक्षित हुन्छ।’
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने बाँकी ८ वटा समूहमा रातो पोतिएको छ।
आज बैंकिङ समूह सर्वाधिक ३८.४१ अंकले उकालो लागेको छ। विकास बैंक समूह ६.४७ अंकले बढेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा ५.५४ अंक र म्युचुअल फन्ड समूहमा ०.११ अंकको बढोत्तरी भएको छ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १११.०४ अंकले ओरालो लागेको छ। व्यापार समूह ३७.९५ अंकले घटेको आज होटेल्स् समूहमा १३.०२ अंक, जलविद्युत् समूहमा २६.९८ अंक, वित्त समूहमा ९.३९ अंक, निर्जीवन बीमा समूहमा ३७.८६ अंक, लघुवित्त समूहमा २४.८१ अंक र जीवन बीमा समूहमा ५४.११ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँमा कारोबार भएको छ।
यो दिन नबिल बैंकको सबैभन्दा धेरै ५४ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ग्लोबल आईएमई बैंकको ४२ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल बैंकको ३९ करोड १६ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ३७ करोड ३४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३३ करोड ६७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ३० करोड ५९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २६ करोड ९४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २६ करोड १० लाख रुपैयाँ, एनएमबी बैंकको २४ करोड ७० लाख रुपैयाँ र कुमारी बैंकको २० करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ६ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशत तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, मिर्मिरे लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सनराइज फस्ट म्युचुअल फन्ड र हिमालय ऊर्जा विकासको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यो दिन साधना लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago