काठमाण्डौ । नेप्से परिसूचक आज मंगलबार झिनो अंकले बढेको छ।

यो साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५.६८ अंकको बढोत्तरीसँगै १४०७.८९ को विन्दुमा पुगेको छ। यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.२३ अंकको गिरावटका साथ २८९.७७ को विन्दुमा झरेको छ। 

कोरोनाका कारणले गर्दा अन्य क्षेत्रमा लगानीको वातावरण खुम्चिँदै गएपछि पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश निकै उत्साहजनक रुपमा बढिरहेको स्टक ब्रोकरहरुको भनाइ छ। कोरोनाभाइरसकै कारण बजारमा केही करेक्सन र द्विविधा विद्यमान रहेका बेला यही मौकामा सेयर किन्ने सुअवर्ण अवसर भएको ब्रोकरहरुको जिकिर छ। 

बजारमा थोरै रकममा मात्र बार्गेनिङ भइरहेको र उच्च खरिदचाप भएकाले बजार बुलिस ट्रेन्डमा जानुपर्ने ब्रोकरहरुको दाबी छ। बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समयमा आधार दरमा सेयर धितोकर्जा प्रवाह भइरहेको जिकिर गर्दै बैंकहरु ब्रोकर कार्यालयमा धाउनेको लर्को लागिरहेको ब्रोकरहरु सुनाउँछन्। 

कोरोनाले मनोविज्ञानमा लगानीकर्ताको असर गरिरहेको र आत्मबल घटेको लगानीकर्ताहरुको भनाइ छ। बजार घट्ने तत्काल कुनै कारण नरहेको लगानीकर्ताको तर्क छ। 

बजारबाट आउने प्रतिफल बचतभन्दा बढी रहेको र सहज रुपमा सेयर धितो कर्जा पाइरहेकाले सेयर बजारमैत्री वातावरण भइरहेको सेयर कारोबारी सिर्जना सुवेदीको भनाइ छ। ‘अन्य विदेशी मुलुकमा कोरोना संक्रमणको पारोसँगै परिसूचकको पारोसमेत बढिरहेकाले अन्य क्षेत्रभन्दा सेयर बजार नै भरपर्दो र बढी प्रतिफलको क्षेत्र देखिन्छ’, सुवेदीले भनिन्, ‘केही समय पर्खन सके चाँडै नेप्सेमा नयाँ रेकर्ड बन्नेछ।’ 

कोरोना त्रासलाई बिर्सिंदै लगानीकर्ताहरुले समेत पछिल्लो समय दैनिक कारोबार रकम बढाइरहेको र नेप्से परिसूचकमा निरन्तर सकारात्मक सुधार हुँदै विस्तारै नेप्से परिसूचकमा बढोत्तरी नै आउने विश्लेषकहरुको दाबी छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ७ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो।

यो दिन व्यापार समूहमा १०.५६ अंक, जलविद्युत् समूहमा १.६६ अंक, निर्जीवन बीमा समूहमा ५०.८६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४४.४ अंक, अन्य समूहमा १३.४७ अंक, लघुवित्त समूहमा १७.४२ अंक र जीवन बीमा समूहमा ५४.०६ अंकको बढोत्तरी भएको छ।

आज बैंकिङ समूहमा ०.४७ अंक, होटेल्स् समूहमा ९.४८ अंक, विकास बैंक समूहमा १.५३ अंक, वित्त समूहमा ०.५४ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १८९ कम्पनीका ४१ लाख १४ हजार ५१२ कित्ता सेयर १ अर्ब २३ करोड ९० लाख १७ हजार ४२६ रुपैयाँको कारोबार भएको छ।

यो दिन नागरिक लगानी कोषले उच्च कारोबार गर्यो। यो कम्पनीको मात्र १६ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भयो। 

यसैगरी नेको इन्स्योरेन्सको ६ करोड ६० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड १३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ५६ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ४ करोड ६० लाख रुपैयाँ, सेन्चुरी कमर्सियल बैंकको संस्थाप सेयरको ३ करोड ८ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २ करोड १३ लाख रुपैयाँ, नेपाल बैंकको २ करोड ९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ८ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको २ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउनेहरु

आज नागरिक लगानी कोष, साधना लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर र युनियन हाइड्रोपावरका सेयरधनीहरुले उच्च कमाए। नागरिक लगानी कोष, साधना लघुवित्त र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लाग्यो भने युनियन हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आयो।

यो दिन घलेम्दी हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आयो।