काठमाण्डौ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ।

परिसूचक वृद्धिसँगै कारोबार रकमसमेत २ अर्ब रुपैयाँ नाघेको छ।  केही सातादेखि दैनिक औसत १ अर्ब रुपैयाँमात्र कारोबार हुँदै आइरहेकामा आज भने ह्वात्तै बढेर दोब्बर भएको हो। 

विगत अढाइ वर्षदेखि निकै विवादित र आलोचित अर्थमन्त्री डा. युवराज खतिवडा आगामी भदौ २० बाट बहिर्गमन हुने विषयले समेत सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। अर्थमन्त्री खतिवडालाई सेयर बजारविरोधीका रुपमा लगानीकर्ताले लिँदै आइरहेकामा उनको बहिगर्मनलाई लगानीकर्ताले आज हरियो कार्पेटले स्वागत गरेको बताइन्छ।

सेयर खरिदबिक्री अब संसारको जुनसुकै कुनाबाट सहजै गर्न सक्ने अवस्थामा पु्गेकाले समेत लगानीकर्ताको थप मनोबल बढिरहेको विश्लेषकहरुको भनाइ छ। हिजोआज घरबाटै लगइन लिई सेयर किनबेच र रकम भुक्तानीको व्यवस्था भएपछि लगानीकर्तामा यसले सकारात्मक प्रभाव पारेको र मनोबल बढाइरहेको विश्लेषकहरुको दाबी छ।

निकट समयमा स्टक डिलरका रुपमा नागरिक स्टक डिलरको धमाकेदार प्रवेशको आशाले समेत लगानीकर्तामा सेयर खरिद गर्ने चाहना बढाइरहेको कम्पनीका सेयरमा अत्याधिक माग रहेको जानकारहरु बताउँछन्।

लगानीकर्ताहरुले प्रविधिलाई अँगाल्दा र राफसाफ हुनेबित्तिकै ब्रोकरबाट भुक्तानी पाउने व्यवस्थाले समेत बजारलाई सकारात्मक सन्देश दिएको र बजार आगामी दिनमा झन् बढ्न सक्ने संकेत रहेको विश्लेषकहरुको दाबी छ।

आज नेप्से परिसूचक २१.२६ अंकको बढोत्तरीका साथ १४३१.६० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्सले पनि ३.५९ अंकको बढोत्तरीसँगै २९३.१४ को विन्दु चुमेको छ। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली र एउटामा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूहमा सबैभन्दा बढी १६२.८७ अंकको बढोत्तरी आएको छ। त्यस्तै निर्जीवन बीमा समूहमा १२८.६९ अंक, बैंकिङ समूहमा १५.८२ अंक, व्यापार समूहमा १३.७३ अंक, विकास बैंक समूहमा १७.१६ अंक, जलविद्युत् समूहमा ७.२२ अंक,  वित्त समूहमा ३.६६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६४.९१ अंक, अन्य समूहमा १२.३६ अंक, लघुवित्त समूहमा ५५.७३ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको बढोत्तरी भएको छ। 

आज होटेल्स् समूहमा १.४३ अंकको गिरावट आयो।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १८२ कम्पनीका ४९ लाख २४ हजार २८९ कित्ता सेयर २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ रुपैयाँमा कारोबार भएको छ।

आज नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो। यो कम्पनीको मात्रै २१ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भयो।

यसैगरी नेको इन्सुरेन्सको १२ करोड ४५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ११ करोड ७६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ७६ लाख रुपैयाँ, नेपाल बैंकले ८ करोड १२ लाख रुपैयाँ, शिवम् सिमेन्टले ७ करोड २६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ५ करोड ८९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ६२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ५ करोड ४८ लाख रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सको ५ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भयो। 

धेरै कमाउने र धेरै गुमाउने 

आज कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै कमाए। यो बैंकको सेयरमूल्यमा आज झन्डै ७ प्रतिशतको उछाल आयो।

आज छ्याङ्दी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा २ प्रतिशत बढीको गिरावट आयो।