काठमाण्डौ । नेप्से परिसूचकको ओरालो यात्रा आज बुधबार पनि जारी रहेको छ। आज कारोबार रकम पनि डेढ अर्ब रुपैयाँ हाराहारीमा खुम्चिएको छ।
साताको चौथो दिन बुधबार नेप्से परिसूचक ७.४२ अंकको गिरावटका साथ १५६१.१७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६६ अंकले ओरालो लाग्दै ३०९.७५ को विन्दुमा सीमित बनेको छ।
आज होटेल्स समूहबाहेक बाँकी सबै समूह राताम्मे भए। आज पनि हाइड्रोपावर समूहमा भारी गिरावट आएको देखिन्छ।
सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको लामो सूचीमा हाइड्रोपावर कम्पनीहरु रहेको नेप्सेले जनाएको छ। कृत्रिम रुपमा हकप्रद र आकर्षक रिपोर्टको हवाला दिँदै हाइड्रोपावर कम्पनीका सेयरमूल्य उचाल्ने क्रममा आज पनि ब्रेक लागेको विश्लेषकहरुको भनाइ छ। हाइड्रोपावरका सेयरमूल्य माथि उकासी हकप्रद भिडाउन उद्धत रहेका हाइड्रोपावर कम्पनीकै संस्थापकहरुले हाल सेयरको आपूर्ति बढाइरहेका र ठूलो परिमाणमा सेयरको आपूर्तिले सेयरमूल्यमा भारी गिरावट आएको विश्लेषकहरु दाबीसमेत गर्छन्। बजारको खेलाडीहरुले हाइड्रोमा उच्च खरिदचाप देखाउनकै लागि एकातिर किन्न बस्ने र अर्कातिर बेच्दै जाने रणनीति मुताबिक सोझालाई हाइड्रोका सेयर भिडाउने खेल भइरहेको जानकार बताउँछन्।
नजिकिँदै गरेको दसैँतिहारले समेत लगानीकर्तामा सेयर खरिदबिक्रीप्रति चासो नभइरहेको र चाडपर्वपछि मात्रै सक्रिय हुने दाउमा रहेका कारणसमेत बजारमा सेयरको मागमा कमी आई कारोबार रकमसमेत दिनानुदिन घट्दै गइरहेको विश्लेषकहरुको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये एउटामा मात्र हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ।
यो दिन होटेल्स् समूहमा २.३८ प्रतिशतको बढोत्तरी भएको छ। जीवन बीमा सर्वाधिक ३३.६१ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह ३.५९ अंक, व्यापार समूह ३.७३ अंक, विकास बैंक समूह ४१.९१ अंक, जलविद्युत् समूह १६ अंक, वित्त समूह १०.९ अंक, निर्जीवन बीमा समूह २२.०८ अंक, उत्पादन तथा प्रशोधन समूह २२.३३ अंक, अन्य समूह ५.९ अंक, लघुवित्त समूह ५.३२ अंक र म्युचुअल फन्ड समूह ०.०७ अंकले घटेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका ५२ लाख ९१ हजार ३१४ कित्ता सेयर १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९९२ रुपैयाँमा कारोबार भएको छ।
आज सानिमा बैंकको सर्वाधिक ७ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको ६ करोड ९ लाख रुपैयाँको कारोबार भएको यो दिन नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ३१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९४ लाख रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ३६ लाख रुपैयाँ, ज्योति विकास बैंकको ३ करोड ७१ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ३ करोड ५६ लाख रुपैयाँ, अपी पावरको ३ करोड ५४ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको ३ करोड ३७ लाख रुपैयाँ र नेसनल हाइड्रोपावर कम्पनीको २ करोड ९८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन आजबाट धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको जनरल इन्स्योरेन्ससँगै नेपाल फाइनान्सका सेयरधनीहरुले उच्च कमाएका छन्। दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
आज घलेम्दी हाइड्रोपावका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशत बढीको गिरावट आएको छ। यसैगरी अपी पावार, वरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर र रिडी हाइड्रोपावरको सेयरमूल्यमा पनि ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago