काठमाण्डौ । तिहार नजिकिएसँगै नेप्सेमा पनि झिलिमिली छाएको छ।
आज मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिसँगै धेरै समयपछि कारोबार रकमसमेत ४ अर्ब रुपैयाँ नाघेको छ। आज परिसूचक २५.९८ अंकको वृद्धिका साथ १६७८.७९ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०९ अंकको बढोत्तरीका साथ ३३०.३९ विन्दुमा उक्लिएको छ।
कोरोनोविरुद्धको भ्याक्सिनले पूर्णता पाउनु र अमेरिका जो बाइडेन राष्ट्रपति चुनिनुले एसियाली सेयर बजारमै उछाल आइरहेको छ। जसको प्रभाव आज नेपालको सेयर बजारमा समेत परेको विश्लेषकहरु बताउँछन्।
आज नेप्सेमा बीमा, निर्जीवन बीमा र व्यापार समूह अन्य समूहको तुलनामा चम्किएका छन्। हिजोआज लगानीकर्ताहरु महँगा सेयरमूल्य भएका कम्पनीहरुप्रति आकर्षित हुँदा ती कम्पनीका सेयरमूल्यमा उच्च बढोत्तरी देखिन्छ। कोरोना भ्याक्सिनले पूर्णता पाउने लगभग सुनिश्चित भएपछि होटल समूह पनि चलमलाउन थालेको बताइन्छ।
हिजो सोमबारझै नेप्सेमा आज पनि बजार पूँजीकरण र इन्डेक्सलाई नै प्रभाव पार्ने कम्पनीहरु नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनीलगायतका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से परिसूचक र कारोबार रकममा उछाल आएको विश्लेषकहरुको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूहमा सर्वाधिक ४७६.३६ अंकको उछाल आएको छ। निर्जीवन बीमा समूह १६०.४ अंकले उकालो लागेको आज बैंकिङ समूह ७.११ अंक, व्यापार समूह १०९.४९ अंक, होटेल्स् समूह ८७.४३ अंक, विकास बैंक समूह ८.०७ अंक, वित्त समूह ३.८३ अंक, उत्पादन तथा प्रशोधन समूह ४०.९ अंक, अन्य समूहमा ४८.५८ अंक र लघुवित्त समूहमा ४.८९ अंकले बढेका छन्।
आज जलविद्युत् समूहमा ०.६८ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृत १९६ कम्पनीका ९६ लाख ५७ हजार ६७७ कित्ता सेयर ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २५६ रुपैयाँमा कारोबार भएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २८ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको २० करोड ८३ लाख रुपैयाँ, एनटीसीको २० करोड ६४ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको १६ करोड ८७ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १६ करोड ७१ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको १० करोड २७ लाख रुपैयाँ, अपी पावरको ९ करोड ७४ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ९ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङको सेयरमूल्यमा १० प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन नेपाल टेलिकम (एनटीसी) को सेयरमूल्यमा पनि ९ प्रतिशत बढीले उछाल आएको छ।
आज विशाला बजार कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago