काठमाण्डौ । नेप्से परिसूचकमा आज बिहीबार दोहोरो अंकले बढेको छ। आज कारोबार रकमसमेत ५ अर्ब रुपैयाँ नजिक पुगेको छ।
सेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार तिहारको झिलीमिलीलाई स्वागत गर्दै सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर कारोबार रकम ५ अर्ब रुपैयाँ नजिक पुगेको हो। आज नेप्से परिसूचक १०.८२ अंकको बढोत्तरीका साथ १७१८.४९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.२७ अंकले उकालो लाग्दै ३३८.८९ को उचाइमा पुगेको छ।
नेप्से परिसूचक १७०० विन्दु पार गरेपछि सेयर लगानीकर्ताहरुमा रहेको आत्मविश्वास र मनोबलमा समेत सकारात्मक प्रभाव परेको र सेयर किनबेच आक्रमक रुपमा गरिरहेको विश्लेषकहरु जिकिर गर्छन्। परिसूचकले १७०० विन्दु पार गरेकै कारण बजार अझै बढ्ने थप मनोविज्ञान लगानीकर्ताहरुमा परेको कारण तिहारपछि पनि बजार अझै उकालो लाग्ने विश्लेषकहरु दाबी गर्छन्।
आज प्रकाशित पहिलो त्रैमासिक रिपोर्टमा उल्लेख्य प्रगति गरेकै कारण प्रभु बैंकलगायत कतिपय बैंकमा लगानीकर्ताहरु आक्रमक खरिद गरिरहेका देखिन्छन्।
बीबीसी, एसटीसी, आरबीसीएललगायतका महँगा कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको आजको दिन नेपाल टेलिकम र नेपाल पुनर्बीमाका सेयरमूल्यमा बढोत्तरी भएपछि यसको प्रभाव इन्डेक्स र कारोबार रकममा समेत उछाल आएको विश्लेषकहरु बताउँछन्।
अब सेयर कारोबार आगामी साताको मंसिर ३ गते अर्थात् बुधबारमात्र खुल्ने भएकाले पनि सेयर खरिदबापतको भुक्तानी रकम ढिला दिन मिल्ने भएकाले समेत कारोबार रकम ह्वात्तै बढेको हो।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ७ वटा समूहमा रातो पोतिएको छ।
यो दिन व्यापार समूहमा सर्वाधिक १६४.७१ अंकको बढोत्तरी भएको छ। निर्जीवन बीमा समूह ३९.१६ अंकले उकालो लागेको आज बैंकिङ समूह १०.२१ अंक, अन्य समूह २८.३९ अंक र म्युचुअल फन्ड समूह ०.०१ अंकले बढेका छन्।
आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ३०.८६ अंकको गिरावट आएको छ। जीवन बीमा समूह २८.९२ अंकले घटेको यो दिन होटेल्स् समूह १८.४१ अंक, विकास बैंक समूह ४.४७ अंक, जलविद्युत् समूह ६.४५ अंक, वित्त समूह ३.६५ अंक र लघुवित्त समूह १.७१ अंकले ओरालो लागेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृत १९८ कम्पनीका १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता सेयर ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ रुपैयाँमा कारोबार भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सार्वधिक २८ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
नेपाल टेलिकम (एनटीसी) को २६ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको आज प्रभु बैंकको २० करोड ८२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १८ करोड ७६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको १५ करोड ९४ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १३ करोड ६४ लाख रुपैयाँ, नागरिक लगानी कोष (सीआईटी) को १३ करोड ६३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १२ करोड ४९ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सको ११ करोड २९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज दुईवटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। यो दिन साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) र विशाल बजार कम्पनीका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज नाडेप लघुवित्तको सेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले उछाल आएको छ।
यो दिन गणपति माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago