काठमाण्डौ । हिजोआज सेयर बजारको रौनक र उत्साहमा ब्रेक लागेको छ।
आज बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकमसमेत ह्वात्तै घटेको हो। आज परिसूचक ३९.६० अंकले घटेर १९५५.७५ को विन्दु झरेको छ। परिसूचकको गिरावटकै कारण अल्पकालीन कारोबारीहरु निष्क्रिय हुँदा कारोबार रकमसमेत पौन ५ अर्बको हाराहारीमा खु्म्चिएको छ।
पछिल्लो समयमा नेप्से परिसूचक करिब ५ सय अंकको बढोत्तरी भए पनि बजारले करेक्सन नलिइरहेको अवस्थामा हाल प्रफिट बुक गर्नेको जमात बाक्लिएकै कारणसमेत नेप्से दिनहुँ ओरालो यात्रामा गइरहेको विश्लेषकहरुको ठहर छ।
अल्पकालीन कारोबारीहरुले बढ्दो बजारमा छोटो समयमा अत्याधिक कारोबार गरेको र ती कारोबारीहरु पछिल्लो समयमा बजारबाट निस्किने क्रम जारी रहेकाले समेत बजार आगामी दिनमा पनि घट्ने विश्लेषकहरुको भनाइ छ। यो साताभरि नै बजारको ओरालो यात्रा नै रहनसक्ने जिकिर गरेका विश्लेषकहरुले बजारको करेक्सनले अब आगामी दिनमा बजार थप मजबुत र स्थायी हुने उनीहरुको तर्क छ।
बजारको ओरालो यात्रा जारी रहेकाले अझै १०० अंकतलसम्म बजारले करेक्सनको मोड लिन सक्ने प्राविधिक विश्लेषकहरुको ठम्याइ छ।
आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये जलविद्युत समूहमात्रै २.८९ अंकले बढेर हरियाली छाएको छ। बाँकी ११ वटा समूहमा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक २७०.४६ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २२५.१३ अंकले घटेको आज बैंकिङ समूहमा ३०.५९ अंक, व्यापार समूहमा ९९.२६ अंक, होटेल्स् समूहमा ५९.९४ अंक, विकास बैंक समूहमा २२ अंक, वित्त समूह २.५८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ९८.५४ अंक, अन्य समूहमा ४६.८५ अंक, लघुवित्त समूहमा ६९.८ अंक र मुच्युअल फन्ड समूहमा ०.१५ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २०१ कम्पनीका १ करोड ८ लाख २१ हजार ९७२ कित्ता सेयर ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँमा कारोबार भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीकै सर्वाधिक ४२ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको २५ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको यो दिन अरुण काबेली पावरको २३ करोड २१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २० करोड २६ लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको १३ करोड ८ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ७६ लाख रुपैयाँ, नेपाल टेलिकमको १२ करोड ४४ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १० करोड ७३ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको १० करोड २४ लाख रुपैयाँ र नागरिक लगानी कोषको १० करोड १९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज दुईवटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन नारायणी डेभलपमेन्ट बैंक र सान्जेन जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो।
यो दिन अरुण भ्याली हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा घटेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago