काठमाण्डौ । यो साता धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। परिसूचकमा गिरावट आए पनि कारोबार रकम बढेर पौने ७ अर्ब रुपैयाँ पुगेको छ।
आज परिसूचक २२.७० अंकले घटेर २०३२.५१ को विन्दुमा खुम्चिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.०४ अंकले ओरालो लाग्दै ३८५.९४ को विन्दुमा सीमित बनेको छ।
नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको सर्कुलरमा राम्रा कम्पनीमा मात्रै सेयर धितो कर्जा गर्ने नीति बनाएपछि र कतिपय खराब वित्तीय अवस्था भएका कम्पनी, संस्थागत सुशासन अभाव रहेका कम्पनी तथा नयाँ कम्पनीका सेयर धितो राखी कर्जा लिन कडाइ गरेपछि त्यसको झिनो असर आज बजारमा देखिएको विश्लेषकहरु बताउँछन्। पछिल्लो समयमा खराब कम्पनीहरुमा समेत अन्धाधुन्ध सेयर लगानीको अनुपात बढेपछि राष्ट्र बैंकले यो अस्त्र प्रयोग गर्दा कतिपय कम्पनीका सेयरमूल्य ५० प्रतिशतसम्म घट्ने आंकलन गरिएको छ। नेपाल पुनर्बीमा कम्पनीजस्ता नयाँ कम्पनीहरुको नेप्सेमा २५० दिन कारोबार नभएकाले यस कम्पनीलाई अझै माथि फुल्याएर पुर्याउने चलखेल समेत निस्तेज हुने आशा राखिएको छ।
आज बजार सुरुआती ताका स्थिर रहे पनि नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी र नेपाल टेलिकमको सेयरमूल्य २ प्रतिशत हाराहारी गिरावट आउँदा यसको प्रत्यक्ष असर नेप्से परिसूचकमाथि परेको विश्लेषकहरु बताउँछन्। परिसूचकको गिरावटमा आज पुनर्बीमा कम्पनीको सेयरमूल्यमा पहिरो जाँदा बजार नकारात्मक लय समातेको विश्लेषकहरुको भनाइ छ।
बजार घट्दो क्रममा रहे पनि सूचीकृत कम्पनीका सेयर खरिदबिक्रीमा उच्च बार्गेनिङ पनि देखिन्छ। किन्नेले घटाएर किन्न खोज्ने र बेच्नेले समेत थोरै मार्जिनमा बेच्ने मोलमोलाइकै कारण बजार निकै बेर स्थिर रह्यो पछि पुनर्बीमा कम्पनीको सेयरमा भारी गिरावट आएपछि लगानीकर्ताको मनोबल कमजोर भएर बजार घटेको विश्लेषक बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने बाँकी सबैमा रातो पोतिएको छ। यो दिन लघुवित्त समूहमात्रै ९.२८ अंकले बढ्यो।
आज जीवन बीमा समूहमा सर्वाधिक २७४.२७ अंकको गिरावट आएको छ। निर्जीवन बीमा समूह १३५.५९ अंकले घटेको यो दिन बैंकिङ समूहमा ११.४ अंक, व्यापार समूहमा ५८.०१ अंक, होटेल्स् समूहमा ३२.०६ अंक, विकास बैंक समूहमा १६.६८ अंक, जलविद्युत् समूहमा २७.३६ अंक, वित्त समूहमा ८.३९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३५.१ अंक, अन्य समूहमा ३२.४५ अंक र म्युचुअल फन्ड समूहमा ०.०७ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका १ करोड ४१ लाख १४ हजार ४६० कित्ता सेयर ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ रुपैयाँमा कारोबार भएको छ।
आज पुनर्बीमा कम्पनीको सर्वाधिक ८० करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ५५ करोड ४० लाख रुपैयाँको कारोबार भएको यो दिन नेपाल बैंकको ३७ करोड ८७ लाख रुपैयाँ, नागरिक लगानी कोषको २६ करोड १७ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २४ करोड ५३ लाख रुपैयाँ, नबिल बैंकको २३ करोड ८६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १६ करोड ९१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १६ करोड ७५ लाख रुपैयाँ, मेगा बैंकको १६ करोड ५९ लाख रुपैयाँ र शिवम सिमेन्ट्सको १३ करोड ७७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन महुली सामुदायिक लघुवित्त, माउन्टेन इनर्जी र छ्याङ्दी जलविद्युत् कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यो दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सार्वधिक ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago