काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक आज बुधबार दोहोरो अंकले बढेको छ। 

आज परिसूचक १३.०७ अंकले बढेर २१७५.५७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४५ अंकले उकालो लागेर ४१८.१४ को उचाइमा पुगेको छ।

परिसूचकमा वृद्धि भए पनि कारोबार रकम घटेर झन्डै साढे ४ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ। पुस मसान्तको प्रभावले समेत सेयर बजार प्रभावित भइरहेको छ। बजारमा खरिदारीभन्दा बिक्री हावी भइरहेकाले समेत परिसूचक र कारोबार रकममा उल्लेख्य वृद्धि नभएको विश्लेषकहरु बताउँछन्। 

पछिल्लो समय बजारमा सेक्टरवाइज सेयर खरिदबिक्रीको अवस्था चलिरहेको छ। हिजो हाइड्रो समूह चलेकोमा आजबाट भने निर्जीवन बीमा र लघुवित्त समूहमा लगानीकर्ता झुम्मिएका देखिन्छन्। बजार लगभग साइडेजमा भएकाले कम आपूर्ति भएको निर्जीवन बीमामा भने अल्पकालमै राम्रो पुँजीगत लाभ कमाउने अवसर प्राप्तिका लागि लगानीकर्ताहरुको आकर्षण भएको विश्लेषकहरु बताउँछन्।

यता लघुवित्त कम्पनीहरुमा लाभांश घोषणा गर्ने क्रम जारी रहेकोले पनि लघुवित्तमा लगानीकर्ताहरु झुम्मिने क्रम बढेको छ। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको छ भने बाँकी २ वटामा रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ११२.६६ अंकले उकालो लागेको छ। लघुवित्त समूह ५६.३१ अंकले बढेको आज बैंकिङ समूहमा ११.८ अंक, होटेल्स् समूहमा ०.८५ अंक, विकास बैंक समूहमा २२.९५ अंक, वित्त समूहमा ३.६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३०.६ अंक, अन्य समूहमा ६.३३ अंक, लघुविवत्त समूहमा ५६.३१ अंक, जीवन बीमा समूहमा २४.८३ अंक र म्युचुअल फन्ड समूहमा ०.०९ अंकको बढोत्तरी भएको छ।

आज व्यापार समूहमा २०.९९ अंक र जलविद्युत् समूहमा १२.८ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०५ कम्पनीका १ करोड ५ लाख ३५ हजार २१६ कित्ता सेयर ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३३९ रुपैयाँ कारोबार भएको छ।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी २१ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिखर इन्स्योरेन्सको २० करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ४४ लाख रुपैयाँ, नेपाल टेलिकमको १५ करोड ८७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १५ करोड ५१ लाख रुपैयाँ, सानिमा बैंकको १५ करोड ३२ लाख रुपैयाँ, प्रभु बैंकको १४ करोड ४० लाख रुपैयाँ, सिद्धार्थ बैंकको १३ करोड ११ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको १२ करोड २६ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको १० करोड ९३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको छ। आज प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढी र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य ९ प्रतिशतको हाराहारीमा बढेको छ। 

जनउत्थान लघुवित्तको सेयरमूल्य पछिल्ला केही दिन ह्वात्तै बढेको देखिन्छ। आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले सकारात्मक सर्किट लाग्दासमेत बिक्रीतर्फ भने शून्य थियो। यो लघुवित्तले निकट समयमै २८ प्रतिशतको हाराहारी लाभांश घोषणा गर्ने हल्ला बजारमा फैलिएपछि यसको सेयर हारालुछ भइरहेको छ।

आज जोशी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।