काठमाण्डौ । साताको धितोपत्र कारोबारको चौथो दिन बुधबार बजारमा झिनो अंकको करेक्सन आएको छ।
आज परिसूचक ६.८१ अंकको गिरावटका साथ २४६६.९२ विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.९२ अंकको बढोत्तरीका साथ ४५२.२९ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकमसमेत हिजोको तुलनामा बढेर साढे ९ अर्ब रुपैयाँभन्दा बढी भएको छ।
विश्लेषकहरुका अनुसार नेकपा प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालको झिनो प्रभाव परेको हुन सक्ने अनुमान गरेका छन्। तर अहिले राजनीतिक माहौल बिग्रिहाले पनि सेयर बजार खासै प्रभाव नपर्ने उनीहरुको ठहर छ। यसअघि पनि पटकटक देखिएका राजनीतिक अस्थिरतबीच पनि सेयर बजार बढेकै कारण यसपालि बजारले २७०० को विन्दु अवश्य चुम्ने उनीहरुको दाबी छ।
बजार जानकार प्रेम ओली हिजो ह्वात्तै बजार बढेका कारण आज सामान्य करेक्सन आउनुलाई स्वाभाविक नै रहेको बताउँछन्। ‘आज घोषणा भएको आमहड्तालले पनि लगानीकर्ताहरुमा सामान्य त्रास फैलिएको देखिन्छ, जसको प्रभावले आज बजार सामान्य घटेको हुन सक्छ’, उनले भने, ‘अर्को कारण भनेको अल्पकालीन लगानीकर्ताहरुले बीमा कम्पनीहरुका सेयरहरु बेचेर प्रफिट बुक गर्नुका साथै त्यसबाट आएको पैस अहिले सस्तोमा पाइरहेका बैंक तथा वित्तीय संस्थाको सेयरमा हाल्दा पनि बजार घटेको हुन सक्छ।’
लगानीकर्ताहरुले दोस्रो त्रैमासमा सामान्य नतिजा देखाएका बैंकहरुले तेस्रो र चौथो त्रैमासमा राम्रो नतिजा सार्वजनिक गर्ने आशामा धमाधम लगानी गरिरहेकोले बैंकिङ सेक्टर आज बढेको हुन सक्ने ओलीको ठम्याइ छ।
एसियन सेक्युरिटिज बुटवल शाखाका प्रमुख दीनानाथ शर्माले दीर्घकालीन रुपमा बजार आवश्य नै बढ्ने बताए। ब्रोकरहरुमा ७० प्रतिशत नयाँ लगानीकर्ताहरु थपिएको उल्लेख गर्दै उनले अहिले अधिकांश लगानीकर्ताहरुले टीएमएस लिएर घरबाटै कारोबार गर्नुले सेयर किनबेच ह्वात्तै बढेको बताए। ‘आजको कारोबार रकमले समेत यो कुरालाई पुष्टि गर्छ’, उनले भने, ‘त्यसैले बढ्दो बजारमा साताको १–२ दिन करेक्सन आउनुलाई प्राकृतिक नै मान्नुपर्छ। भोलिको कारोबारमा पक्कै सुधार आउनेछ।’
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ८ वटा समूहमा रातो पोतिएको छ।
यो दिन जलविद्युत् समूह १९.७९ अंकले उकालो लागेको छ। बैंकिङ समूह ४.०७ अंकले बढेको आज लघुवित्त समूहमा १ अंक र म्युचुअल फन्ड समूहमा ०.०५ अंकको बढोत्तरी भएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक १९७.०६ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूहमा १०३.१७ अंकको गिरावट आएको आज व्यापार समूह ६५.९९ अंक, होटेल्स् समूह ३०.९ अंक, विकास बैंक समूह ११.६२ अंक, वित्त समूह १९.१६ अंक, उत्पादन तथा प्रशोधन समूह १०१.५ अंक र अन्य समूह १७.५७ अंकले घटेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका २ करोड २० लाख ४० हजार ५१६ कित्ता सेयर ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन ग्लोबल आईएमई बैंकको सर्वाधिक ६० करोड ८० लाख रपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेलीको ३४ करोड ६० लाख रुपैयाँ, नेपाल टेलिकमको ३२ करोड ५४ लाख रुपैयाँ, नेपाल बैंकको २९ करोड रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २२ करोड ३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २१ करोड २५ लाख रुपैयाँ, सेन्चुरी कमर्सियल बैंकको २० करोड ६६ लाख रुपैयाँ, प्रभु लाइफ इन्स्योरेन्सको २० करोड २६ लाख रुपैयाँ र एनसीसी बैंकको १९ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज चारवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वाभिमान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत र उन्नति सहकार्य लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र महुली सामुदायिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
यो दिन पोखरा फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago