काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अबका दिनमा पर्यटन व्यवसायीलाई उद्योगमा वर्गीकरण गर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस, सुधारका लागि सहकार्य’ कार्यक्रममा मन्त्री रिजालले पर्यटन व्यवसायलाई उद्योगमा वर्गीकरण गरिने बताएका हुन्। उनले पर्यटनलाई उद्योगका रुपमा अगाडि बढाउन नसके देश आर्थिक रुपमा अघि बढ्न नसक्ने पनि बताए। 

हाल पर्यटन क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण गरेको छ। तर, देशलाई आर्थिक रुपमा अघि बढाउने हो भने राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिनुपर्ने उनको भनाइ थियो।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटेल व्यवसायलाई उद्योगसरह सेवासुविधा मन्त्रीसमक्ष माग गरेको थियो। केही समयअघि महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु बस्नेत (अजित)को नेतृत्वको टोलीले उद्योग मन्त्रीलाई भेटी होटल व्यवसायलाई उद्योगसरह सेवा सुविधा दिनमा माग गरेको थियो। 

यसका साथै उक्त समितिले होटलमा निजी क्षेत्रको ठूलो पुँजी लगानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मुलूकको कूल गार्हस्थ उत्पादनमा समेत टेवा पुर्याएको भनदै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरह मान्यता दिन माग गरेको थियो।

मन्त्रीको प्रतिबद्धता र उद्घोषअनुरुप पर्यटन व्यवसाय उद्योग क्षेत्रमा वर्गिकरण भएमा पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै हरित पर्यटनमार्फत ठूलो मात्रामा विदेशी पर्यटक भित्र्याउन सकिने समितिका सभापति बस्नेतले बताए। साथै, अबका दिनमा होटेल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ परिमार्जन कुल बिक्रीको ५ प्रतिशत रोयल्टीको व्यवस्थालाई हटाइनुपर्नेमा उनले जोड दिए। ‘रोयल्टीबापत ५ प्रतिशत मात्रै शुल्क पठाउन पाउने व्यवस्थाले मुलुकमा अन्तर्राष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन देखिन्छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय ब्रान्डका होटेलहरुले ५ प्रतिशतभन्दा कम मूल्यमा सञ्चालन नगर्ने भएकाले सो क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिँदैन।’