काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशभर आंशिकदेखि सामान्य बद्ली रही पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिम भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको औँल्याएको हो । 
 
रातको समयमा पनि देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बद्ली रहनेछ भने मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 
 
देशको पश्चिमी भेगबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभाव मध्य हँुदै क्रमशः पूर्वतर्फ गइरहेकाले आइतबारदेखि मौसममा क्रमिक सुधार आउने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार उक्त वायुको सक्रियताले अहिले पनि देशका पश्चिम तथा मध्य र पूर्वाका केही स्थानमा हल्का वर्षा भइरहेको छ । वर्षासँगै वायु प्रणाली कमजोर हुने हुँदा साँझतिरदेखि मौसममा सामान्यतया सुधार आउनेछ । 
 
भोलि आइतबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।  
 
तापक्रम स्थिर रहे पनि उपत्यकामा बिहानैदेखि बद्ली रहेका कारण आज बढी चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ७.८ र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । 
 
देशका अधिकांश स्थानमा वर्षा भएको छ । काठमाडौँमा चार मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी पोखरामा २८, भैरहवामा २६, दाङमा २४, वीरेन्द्रनगरमा २३, डडेल्धुरामा २२ र दीपायलमा १५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, जुम्लामा १२, सिमरामा चार र ताप्लेजुङमा एक मिलिमिटर वर्षा भएको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ र अधिकतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी अधिकतम तापक्रम सिमराको १४, भैरहवा र विराटनगरको समान १२ डिग्री सेल्सियस रहेको छ ।