काठमाण्डौ । निरन्तर ओरालो लागिरहेको पूँजीबजारमा सोमबार ठूलै पहिरो गएको छ । बजार परिसूचकमा एकैदिन ८८.८१ अंकको पहिरो गएको हो । 

नयाँ आर्थिक वर्षमा एकैदिन यति धेरै अंकले बजार घटेपछि लगानीकर्ताहरु अत्तालिएका छन् । अत्तालिएका लगानीकर्ताहरुलाई थुमथुम्याउन नियामक धितोपत्र बोर्डले विज्ञप्ति नै जारी गर्नुपरेको छ । 

साउन १३ गते १८८१ को ऐतिहासिक उचाई चुमेको नेप्से परिसूचकमा त्यसपछिका प्रत्येक दिन साना–ठूला पहिरो जाने क्रम जारी छ । आइतबार बजारमा करेक्सनको संकेत देखिए पनि अनुमानभन्दा ठीक विपरीत सोमबार एकैदिन परिसूचकमा पहिरो गएको हो । 

अघिल्लो साताको ५ कारोबार दिन लगातार रुपमा दोहोरो अंकले घटेको बजार आइतबार एक अंकले मात्र घटेको थियो । आधाभन्दा बढी परिसूचकमा हरियो पोतिएको थियो । यही अनुमानका कारण बजारमा सोमबारदेखि सुधार हुने विश्वासमा रहेका लगानीकर्ता सोच्दै नसोचेको टेन्डमा बजारको गिरावट देखेपछि त्राहीमाम बनेका छन् । 

सोमबार नेप्से परिसूचक १६७५.९१ अंकमा झरेको छ । कारोबार पनि एक अर्ब भन्दा कममा सीमित बन्न पुगेको छ । 

बिमाको परिसूचकमा उच्च गिरावट देखिएको छ । यो समूह एकैदिन ५३७.८४ अंकले घटेको हो । जलविद्युत समूह पनि तेहेरो अंकले घट्यो । यो समूहको परिसूचकमा ११७.३५ अंकको पहिरो गएको हो । 

वाणिज्य बैंक, बिकास बैंक र बित्त समूहमा क्रमशः ९२.३८, ६९.६१ र ३०.३८ अंकको गिरावट देखियो । 

होटल समूह ६२.९६ अंकले घट्दा अन्य समूह पनि ३२.१ अंकले तल झर्यो । समग्र बजारमा पहिरो गए पनि उत्पादनमूलक समूह भने ८.४५ अंकले बढ्यो । 

सोमबार सेन्सेटिभ र फ्लोट इण्डेक्समा पनि ऐतिहासिक गिरावट देखियो । सेन्सेटिभ इण्डेक्स १९.४५ र फ्लोट इण्डेक्स ६.९१ अंकले तल झरे । 

पूँजीबजारमा १ सय ३० कम्पनीका ११ लाख ६२ हजार ५ सय ७१ कित्ता सेयर ८७ करोड ९३ लाखमा कारोबार भयो । धेरै हप्तापछि पहिलोपटक कारोबार रकम एक अर्ब भन्दा कममा सीमित बन्न पुगेको हो । 

बजारमा पहिरो गए पनि नेपाल बंगलादेश बैंकले १० करोड बढीको सेयर कारोबार गर्यो । नेपाल बैंक र सिद्धार्थ बैंकको पनि ५ करोड बढीको सेयर कारोबार भयो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा सोमबार पनि वाणिज्य बैंकहरुकै दबदबा रह्यो । 

बजारमा पहिरो गएर लगानीकर्ता त्राही त्राही भएको बेला पनि माउण्ट मकालु डेभलपमेन्ट बैंकका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको बढोत्तरी भयो । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, हाम्रो विकास बैंक र युनिलिभर नेपाल लिमीटेडको सेयर मूल्यमा पनि बढोत्तरी भयो । 

सोमबार बजारमा ४ कम्पनीले १० प्रतिशतको दरले सम्पत्ति गुमाए । प्रिमियर इन्स्योरेन्स, गुड्विल फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, फेवा विकास बैंकका लगानीकर्ताले धेरै गुमाउनुपर्यो ।