काठमाण्डौ । बजारमा छाएको कालो बादल तत्काल फाँट्ने आशा मर्दै गएको छ । साना लगानीकर्ताको मनोबल गिरेपछि र ठूला लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा बस्दा बुधबार बजारमा झनै ठूलो पहिरो गएको छ । नेप्से परिसूचक २५.४२ अंकले घटेर १४७०.५७ अंकमा झरेको छ भने कारोबार रकम पनि मंगलबार तुुलनामा करिब २० करोडले घटेको छ । 

दुुई समूहको सूूचकमा सामान्य बढोत्तरी भए पनि बाँकी सबै समूहमा पहिरो गयो । अरु बेला बजारलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्दै आएका वाणिज्य बैंक र बिमा समूहले नै बुधबार चाहि ठूलो पहिरोको सामना गर्नुपर्यो । वाणिज्य बैंक समूहको सूचक २७.३८ अंक तथा बिमा समूहको सूचक १७८.६८ अंकले घट्यो । बिमा समूह २.५ र वाणिज्य बैंक समूह करिब २ प्रतिशतले घटेका हुन् ।

उत्पादनमूलकमा अझ ठूलो पहिरो गयो । यो समूहको परिसूचक ८६.१४ अंकले घट्यो । यो भनेको करिब ४ प्रतिशतको गिरावट हो । 

विकास बैंक, बित्त, जलविद्युत र अन्य समूह क्रमशः ९.९४, ७.०५, १७.४ र ४.९२ प्रतिशतले घटे । 

व्यापार समूहमा १.१२ अंक र होटल समूहमा १.१७ अंकको वृद्धि देखियो । 

'क' वर्गका कम्पनीको कारोबारमा पहिरो गएका कारण सेन्सेटिभ इण्डेक्स ५.८६ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार ४८ करोड बढीको सेयर किनबेच भयो । योमध्ये वाणिज्य बैंकहरुले २३ करोड बराबरको कारोबार गरे । बिमा कम्पनीले १२ करोड तथा विकास बैंकहरुले ६ करोड ८८ लाख हाराहारीमा कारोबार गरे । 

मूल्य समायोजनपछि पनि एभरेष्ट बैंकले नै सबैभन्दा बढी कारोबार गर्यो । यो कम्पनीको ३ करोड ८८ लाखको सेयर किनबेच भएको हो । एनएमबी बैंकले २ करोड ५४ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले १ करोड ८६ लाख, सिभिल बैंकले १ करोड ४९ लाखको कारोबार गरे । बुधबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थानमा वाणिज्य बैंक र ४ स्थानमा बिमा कम्पनीको कब्जा जम्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बियरिस बाटोमा रहे पनि दुुई कम्पनीले पैसा छापे । नागबेली लघुवित्त विकास बैंक र एनबी इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य पनि ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

रिलायवल माइक्रोफाइनान्स बित्तीय संस्थाले बुधबार सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा घट्यो । राप्तिभेरी विकास बैंक लिमीटेडले पनि ८ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमायो । ५ कम्पनीले ५ प्रतिशत भन्दा बढी, ६ कम्पनीले ४ प्रतिशत भन्दा बढी र १७ कम्पनीले ३ प्रतिशत भन्दा बढीको दरले सेयर मूल्य गुमाएका छन् ।