काठमाण्डौ । दोस्रो बजार केही दिनयता निकै अत्यासलाग्दो र भारी गिरावटबाट गुज्रिरहेको छ । यही बजारको झर्ने क्रम र बढ्ने बीचमा पनि धेरै अवसर आएका हुन्छन् । यस्तै अवसर छोप्न अहिले संस्थागत लगानीकर्ताहरु निकै आक्रमक रुपमा सेयर खरिद गरिरहेका म्युचुअल फण्डका सीइओ तथा स्टक ब्रोकरहरु बताउँछन् ।
नेप्से परिसूचकमा आइरहेको भारी गिरावटलाई अवसरका रुपमा लिदै म्युचुअल फण्डहरुले गिरावटबाट प्यानिक नयाँ र साना लगानीकर्ताले आतिएर सेयर बिक्री गरेको मौकामा चौका हान्न दोश्रो बजारबाट सेयर उठाउन भ्याइनभ्याई भएको हो।
बजार ठ्याक्कै एक महिनाअघिकै अवस्थामा आइपुगेको छ । नेप्से परिसूचक गत महिनाको फेब्रुअरी ११ तारिखमा १३४१ विन्दू थियो अहिले पुनः नेप्सेले ओरालो यात्रा तय गर्दै सोही विन्दूलाई पछ्याउँदै आज नेप्से परिसूचक १३४९ विन्दूमा ओर्लेको छ । यही नेप्सेको गिरावट र राताम्मै भएका बेलामा म्युचुअल फण्डलाई भने राम्रा राम्रा कम्पनीहरुका सेयर धमाधम उठाउन फुर्सद छैन ।
गत फेब्रुअरी महिनाको अन्त्यतिर नेप्से परिसूचक १६ सयको यात्रा तय गर्दै गर्दा म्युचुअल फण्डहरुले प्रफिट बूक गरेर हाल निरन्तर घटिरहेको दोस्रो बजारमा निकै आक्रमक तरिकाले सेयर खरिद गरिरहेका छन् ।
नेपालको सेयर बजारमा करिब १० प्रतिशत मात्र विवेकी लगानीकर्ता रहेको तथ्याङ्क छ । आवश्यक पूर्वाधारसहित बजार विज्ञ र दक्षताले भरिपूर्ण म्युचुअल फण्डहरु यस मामलामा विवेकी लगानीकर्तामा पर्छन् ।
नेप्से परिसूचक १३५० विन्दू कटेपछि आक्रामक तरिकाले खरिद गरी नेप्से १६ सय हाराहारी पुग्दा सेयर बेच्न भ्याई प्रफिट बूक गरेका म्युचुअल फण्डहरु हाल एकमहिनाअघिकै नेप्से परिसूचक आउँदा अवसरका रुपमा सेयर खरिदारी बढाइरहेका ब्रोकरहरुले बताएका छन् ।
बढ्दो बजारमा भित्रिएका नवप्रवेशी तथा साना लगानीकर्ताहरु नेप्सेमा हरियाली हुँदा किन्न आतूर हुने र राताम्मै हुँदा भने निकै ठूलो घाटा सहेर सेयर बेचिरहेका छन् जुन एउटा अविवेकी लगानीकर्ताले सेयर लगानीमा अपनाउने रणनीति हो । रातारात बजार बढ्ने हौसलामा नेप्से परिसूचक बढोत्तरी भइरहेका बेला ऋण गरेर सेयरमा लगानी गर्ने चलन नेपाली सेयर बजारमा नौलो भने होइन ।
ब्रोकर्स एशोसिएसनका सचिव तथा ब्रोकर नम्बर ४२ शनि सेक्युरिटीजका सञ्चालक सन्तोष पौडेल म्युचुअल फण्डहरु खरिद गर्ने रणनीतिमा सेयर उठाइरहेको दाबी गर्छन् । नकिनेकाले समेत हिजोआज अवसरका रुपमा सेयर किनिरहेको बताए । सबै म्युचुअल फण्डहरुले सेयर किनिरहेको उनको दाबी छ ।
म्युचुअल फण्डकै ठूलो काम गर्दै आइरहेको अनामनगरस्थित एक ब्रोकरले समेत संस्थागत लगानीकर्ताहरुले आक्रामक तवरबाट सेयर खरिद गरिरहेका जानकारी दिए ।
केही समयअघि बढेको नेप्से परिसूचकको गतिलाई समाएर प्रफिट बूक गर्न भ्याइसकेको दाबी गर्ने नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ सबीर वादे श्रेष्ठले युनिट होल्डरलाई आकर्षक लाभांश वितरण गर्न नेप्से परिसूचक १६ सय पुग्दा नाफा बूक गरेको जिकिर गरे । नेप्से रातो भएको बेला चलख्याईँपूर्वक विवेकी लगानीकर्ता बन्दै सेयर बजारबाट कमाउनुपर्ने उनको धारणा छ । नेपाली सेयर बजार इमोसनमा आधारित हुुनु नराम्रो भएको उल्लेख गर्दै बिनाअध्ययन सेयर लगानी गरे ठूलो क्षति बेहोर्नुपर्ने र यसमा चनाखो रहन उनले जोड दिए ।
हाल सेयर बजारमा १८ वटा म्युचुअल फण्डहरुको उत्साहपूर्ण उपस्थिति रहेको छ भने यी संस्थागत लगानीकर्ताहरुले १५ अर्ब रुपैयाँ बढीको पोर्टफोलियोमा आधारित लगानी गरेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19