काठमाण्डौ । आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले बजार अनुगमन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् । 

नेपाल चेम्वर अफ कमर्सद्वारा मंगलबार चेम्वर भवनमा आयोजित आपूर्ति व्यवस्थापन तथा अनुगमन विषयक अन्तरक्रियामा सचिव सापकोटाले सो कुरा बताएका हुन् । 

उनले कर्मचारीहरुलाई कानूनसम्मत ढगंले अनुगमन गर्न निर्देशन दिइने बताए । उनले अनुगमन कार्य प्रथम चरणमा १५ दिनसम्म जारी रहने र त्यसलाई समीक्षा गरेर निरन्तरता दिइने पनि स्पष्ट पारे । 

सचिव सापकोटाले ऐनकानूनको परिधिभित्र रहेर व्यवसाय गर्न अनुरोध गर्दै व्यवासायीलाई हतोत्साही नहुन समेत आग्रह गरे । उनले एकाध व्यवसायीहरुको लापरवाहीले सिगों उद्योग र व्यापार क्षेत्रमा असर परेको बताउंदै यस्ता विकृति रोक्न नेपाल चेम्वर अफ कमर्स जस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । 

उनले भन्सार मूल्याकंन तथा दरबन्दीमा पुनरावलोकन गर्न जरुरी रहेको बताउंदै सरोकारवाला मन्त्रालयबीच समन्वय गरेर आवश्यक गृहकार्य अगाडि बढाइने बताए । वर्तमान खुलाबजार अर्थतन्त्रको सम्वन्धमा आर्थिक ऐनहरु सोही बमोजिम परिमार्जित हुनुपर्नेमा जोड दिदैं यस कार्यमा निजी क्षेत्रको साथ र समर्थन आवश्यक रहेको उनको भनाई थियो । 

कार्यक्रममा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले चाडपर्वलाई लक्षित गरेर थालनी गरेको बजार अनुगमन जथाभावी र मनलाग्दो तरिकाले गरिएको गुनासो आउन थालेपछि नेपाल चेम्वर अफ कमर्सले अन्तरक्रिया राखेको प्रष्ट्याए । 

उनले कानून अनुसार व्यवसाय गरिखाने वातावरण सरकारले बनाइदिनुपर्ने माग गरे । अध्यक्ष श्रेष्ठले भन्सारमा कारोवार मूल्यलाई मान्यता नदिदां तथा भन्सार दर उच्च हुदां बिलबिजक जारी गर्न समस्या भएको बताउंदै आर्थिक ऐनहरु अविलम्ब पास गर्न सरकारलाई आग्रह गरे । 

उनले उद्योगी व्यवसायीले पनि गुणस्तरमा कुनै सम्झौता गर्न नहुने सुझाए । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले अनुगमन कार्यमा विकृति आउन नहुने बताउंदै उपभोक्ताका हितलाई ध्यानमा राखेर उद्योग व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिए ।