काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले पहिलोपटक विभिन्न क्षेत्रका विज्ञहरुलाई सूचिमा दर्ताका लागि आह्वान गरेको छ। 

सार्वजनिक खरीद ऐनमा भएको व्यवस्था अनुसार वर्षभरिका लागि आवश्यक विभिन्न क्षेत्रसँग सम्बन्धित सेवा लिनका लागि तत्सम्बन्धी विज्ञहरुको सूचि बनाउन लागिएको नेप्सेले जनाएको छ । 

नेप्सेले विभिन्न गतिविधि संचालनका लागि आवश्यक सूचि बनाउन थालिएको उल्लेख गर्दै सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र निवेदन पेश गर्न विज्ञहरुलाई आह्वान गरेको छ । 

नेप्सेले दोश्रो बजारमा काम गर्ने गरी पूँजीबजार विज्ञ, कानून विज्ञ, बित्तीय विश्लेषक, मानव संसाधन विज्ञ, प्रोडक्ट डेभलपमेन्ट विज्ञ, द्वन्द्व व्यवस्थापन विज्ञ, कमोडिटी र डेरिभेटिभ मार्केट एक्सपर्ट(विज्ञ), प्रोक्यूरमेन्ट म्यानेजमेन्ट विज्ञलाई सूचिमा दर्ता हुन आग्रह गरेको हो । 

सबै क्षेत्रका विज्ञका लागि सम्बन्धित बिषयमा स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययन पूरा गरी ५ वर्षको कार्यानुुभव हुनुपर्ने बताइएको छ । विश्लेषण गर्ने राम्रो क्षमता, वाकपटुता समेत हुन आवश्यक रहेको सूचनामा उल्लेख छ । आफ्नो ज्ञान नेपाली र अंग्रेजी माध्यमबाट पनि प्रस्तुत गर्न सक्ने क्षमता समेत हुनुपर्ने बताइएको छ । 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यसअघिका वर्षहरुमा आफूहरुलाई चाहिँदा चिनजानका विज्ञहरुलाई बोलाएर सहयोग लिने गरिएको भए पनि यो वर्षदेखि भने विज्ञको सूचि बनाएर सोहीअनुसार व्यवस्थित काम गर्न खोजिएको बताए । सूचिमा दर्ता भएका विज्ञहरुलाई आवश्यक पर्दा बोलाइने र त्यसबेलाको जिम्मेवारी अनुसार सेवाशर्त तोकेर काममा लगाइने उनले प्रष्ट्याए । 

प्रवक्ता पराजुलीले यो कार्यबाट नेप्सेको सम्पर्कमा नरहेका कुनै राम्रा विज्ञले समेत अवसर पाउनेछन् । तोकिएको मापदण्ड पूरा गर्ने दक्ष विज्ञ जति आए पनि सूचिमा दर्ता गराइने पनि उनले प्रष्ट्याए । 

नेप्सेले विज्ञ माग गर्दै निकालेको सूचनाको पूर्ण विवरण यस्तो छ: