काठमाण्डौ । सर्वसाधारणका लागि निष्कासन गरिएको पहिलो दिन नै एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबि सरल बचत फन्ड–ई’ को झन्डै ४० प्रतिशत इकाइहरु खरिदका लागि आवेदन परेको छ। 

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये प्रथम चरणमा ४ करोड इकाइ आजबाट बिक्री खुला गरिएको छ। निष्कासन गरिएका इकाइमध्ये योजनाको कुल आकारको १४ प्रतिशत इकाइ अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धकक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाइ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। 

योजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार आज साँझ ५ः३० बजेसम्म यस योजनामा २० हजार २४१ आवेदकबाट ९८ लाख १२ हजार ५१० इकाइ खरिदका लागि आवेदन परेको छ। जुन सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइको ३९.२५ प्रतिशत हो। 

खुलामुखी यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

यस योजनाको निष्कासन बन्द छिटोमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गते बैंकिङ समयपछि हुनेछ। 

यस योजनालाई धितोपत्र बोर्डले गत साउन २२ गते निष्कासन अनुमति दिएको थियो।