विराटनगर । पहिलो प्रादेशिक पूँजीबजार प्रदर्शनी(मेला) आज(शुक्रबार)देखि विराटनगरमा सुरु भएको छ । 

विराटनगरको जैन भवन प्रांगणमा आयोजित एक समारोहका बीच प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पहिलो प्रादेशिक पूँजीबजार प्रदर्शनीको उद्घाटन गरेका हुन् । 

असोज २० गते(भोलि)सम्म संचालन हुने प्रदर्शनीमा धितोपत्र बजार सम्बन्धी एकै छानामुनि सबै औजार तथा सेवाको जानकारीमूलक स्टल राखिएको छ । 

प्रदर्शनीको अवसरमा निःशुल्क डिम्याट खाता खोल्ने अवसरको अफर समेत संचालनमा ल्याइएको धितोपत्र बोर्डले जनाएको छ । 

यो अवसरमा आर्थिक, बैंकिङ र पूँजीबजार सम्बन्धी प्रादेशिक परिसूचकको विमोचन गर्ने कार्यक्रम छ भने धितोपत्र बजार सम्बन्धी विभिन्न पुस्तक तथा प्रकाशनको निःशुल्क वितरण गरिनेछ ।

लगानीकर्ता साक्षरता कार्यक्रम समेत संचालन गर्ने लक्ष्य आयोजकको छ भने प्राथमिक तथा दोश्रो बजारको बिषयमा प्रदेश १ का बासिन्दालाई जानकारी दिने कार्यक्रम समेत राखिएको छ । 

मेलाको क्रममा विज्ञहरुबाट पूँजी बजारका सम्बन्धमा प्रस्तुती र अन्तरक्रिया कार्यक्रम राखिएको तथा प्रदेश तथा स्थानीय विकास निर्माणका लागि आवश्यक पूँजी परिचालनको संभावनाको सम्बन्धमा समेत सो क्रममा जानकारी दिइनेछ । 

प्रदर्शनीमा बैंक तथा बित्तीय संस्था, मर्चेन्ट बैंकर, ब्रोकर लगायतका स्टल राखिएको छ ।