काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा जलविद्युत परियोजनाहरुको विकासलाई उच्च प्राथमिकतामा राखिएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । जलविद्युत कम्पनीको सेयरमा सर्वसाधारणको आकर्षण पहिला भन्दा बढेको देखिन्छ । सर्वसाधारणहरु हातमा पैसा बोकेर राम्रो कम्पनीको सेयरमा लगानी गर्न पछिल्लो समय निकै उत्सुक बनेका छन् । पूँजीबजारमा दिनहुँ बढिरहेका लगानीकर्ता र सेयर खरीदबिक्रीको चापले समेत यही कुरा संकेत गर्छ । 

यस्ता लगानीकर्ताहरुका लागि अर्को खुशीको खबर, देशका ५ वटा जलविद्युत कम्पनीहरुले चाँडै नै करिब ४० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्दैछन् । 

यी पाँच कम्पनीको इनिशियल पब्लिक अफरिङ(आइपीओ)को निश्कासनको प्रक्रिया हाल नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा लिस्टमा छ । त्यहाँको निश्चित प्रक्रिया पूरा भएपछि बोर्डले यी कम्पनीलाई आइपीओ निश्कासनको अनुमति दिनेछ । 

धितोपत्र बोर्डका अनुसार सिनर्जी पावर डेभलपमेन्ट लिमीटेड, हिमालयन पावर पार्टनर लिमीटेड, नेपाल हाइड्रो डेभलपर लिमीटेड, यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेड र आँखु खोला जलविद्युत कम्पनी लिमीटेड आइपीओ निश्कासनको अनुमति पर्खिएर बसेका छन् । 

बोर्ड स्रोतका अनुसार सिनर्जीले ७ करोड रुपैयाँ, हिमालयनले १० करोड ६५ लाख रुपैयाँ, नेपाल हाइड्रोले २ करोड ६० लाख रुपैयाँ, यूनाइटेड मोदीले ११ करोड ५० लाख र आँखुखोला जलविद्युतले ८ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनका लागि निवेदन पेश गरेका हुन् । 

आइपीओ निश्कासनका लागि अन्तिम स्वीकृतिको पर्खाईमा रहेका यी कम्पनीमध्ये सिनर्जी र आँखु खोलाको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ । यसैगरी, हिमालयनको ग्लोबल आइएमई क्यापिटल, नेपाल हाइडोको एनएमबी क्यापिटल र यूनाइटेड मोदीको एनआईबिएल क्यापिटल बिक्री प्रबन्धक रहेका छन् । यी सबै कम्पनीहरुले अर्को महिनासम्म आइपीओको अनुमति पाइसक्ने बताइएको छ ।