काठमाण्डौ । पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदी लिमिटेडले आईपीओ ल्याउने भएको छ। 

बाराही सेदीले जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार उक्त होटेलले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ६० हजार कित्ताको साधारणस सेयर निष्कासन गर्नेछ। 

यो होटेलले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बाराही सेदीका तर्फबाट कार्यकारी सञ्चालक विप्लव पौडेल र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रममा बाराही ग्रुपका अध्यक्ष हरिप्रसाद पौडेल, बोर्ड सदस्य बसन्ती पौडेल, वैभव पौडेलसहितका सञ्चालक तथा कर्मचारीहरु तथा एनएमबि क्यापिटलका कमलप्रसाद नेपाल तथा आशीषराज पाण्डेको समेत उपस्थिति थियो।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने कार्यकारी सञ्चालक पौडेलले बताए। 

हाल करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्रगतिमा निर्माण कार्य भइरहेको छ। होटेलमा १० वटा प्रिसिडेन्सियल स्विटसहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन्। 

पोखराको लेकसाइडमै पाँचतारे होटेलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको कम्पनीले जनाएको छ। १ हजार २०० क्षमताको हलसमेत रहने यो होटेलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन्।

विगत ३० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न बाराही ग्रुपले यस बाराही सेदीको अलावा पोखराकै लेकसाइड होटेल बाराही, काठमाण्डौको ठमेलमा होटेल बाराही काठमाण्डौ, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालन गरिरहेको छ। बाराही ग्रुपले होटेल आवास पोखरा, सराङकोट माउन्टेन लजका अलावा लेकसाइडमा द ब्यञ्जन रेस्टुरेन्ट र खपौदीमा द बिच रेस्टुरेन्ट पनि सञ्चालन गरिरहेको छ। 

त्यस्तै पोखरामा आउने पर्यटकलाई पोखरा भ्याली र हिमाली भेगमा हवाई टुर गराउन पोखरा अल्ट्रालाइट पनि बाराही ग्रुपकै नेतृत्वमा सञ्चालन भइरहेको छ।