काठमाण्डौ । पाँचथर पावर लिमीटेडले निश्कासनको गरेको आइपीओको बाँडफाँड यसै साता गर्ने गरी काम अगाडि बढाइएको छ । 

बिक्री प्रबन्धक सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष जोशीका अनुसार सीआस्वामा परेका आवेदनहरुको धमाधम भेरिफाई भइरहेको र यो काम समयमै सकिए आउँदो बिहीबारसम्म आइपीओको बाँडफाँड भइसक्ने बताए । 

'तर, डाटा भेरिफाईको काम सकिएन भने चाहि अर्को साता मात्र बाँडफाँड गर्न सकिनेछ ।' उनले बिजशालासँग भने-'सकेसम्म यही साताको अन्तिम दिन बिहीबार(शुक्रबार सार्वजनिक विदा)सम्म बाँडफाँडको प्रयास हुनेछ ।' 

पाँचथर पावर कम्पनीको आइपीओमा ३५ लाख बढी कित्ताका लागि आवेदन परेको छ । कम्पनीको आइपीओमा दुई गुणा बढी आवेदन परेको बताइएको छ ।

यो कम्पनीले आयोजना प्रभावितले समेत नकिनेको समेत जोडेर सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओ तेश्रो दिनबाट ओभरसब्सक्राइब्ड भएको थियो । 

कम्पनीले १७ लाख ५० हजार २५० कित्ता सेयर निश्कासन गरेको थियो । कुल निश्कासन गरिने भनिएको कित्तामध्ये कर्मचारीलाई ३५ हजार ५ कित्ता र सामूहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता सुरक्षित गरिएको छ । यसको अर्थ सर्वसाधारणका लागि १६ लाख २७ हजार ७३३ कित्ता हुनेछ ।

पाँचथर पावर कम्पनी लिमीटेडले पुस ३० गतेदेखि माघ २९ गतेसम्म आवेदन दिनसक्ने गरी आयोजना प्रभावितका लागि ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ निश्कासन गरेको थियो । सोमध्ये १ लाख ८० हजार कित्ता मात्र बिक्री भयो । आयोजना प्रभावितले नकिनेको समेत जोडी सर्वसाधारणका लागि १७ लाख ५० हजार २५० कित्ता आइपीओ निश्कासन गरेको थियो। 

यो कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए प्रोजेक्टबाट बिजुली उत्पादन थालिसकेको छ । हेवा खोलाको आयोजनास्थल पाँचथरमा छ भने यहाँबाट उत्पादित बिजुलीले ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लासम्मका क्षेत्रलाई उज्यालो बनाएको छ। 

हाल कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ छ । आइपिओ जारी गरेपछि कम्पनीको पूँजी झण्डै ९६ करोड पुग्नेछ ।