काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । 

यो कम्पनीले फागुन ११ देखि १७ गतेसम्म निश्कासन गरेको १७ लाख ५० हजार २५० कित्ता आइपीओ एक कार्यक्रमका बीच बिहीबार ३ः३० बजे बाँडफाँड भएको हो । 

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार पाँचथर पावर कम्पनी लिमीटेडका कर्मचारीहरुलाई ३५ हजार ५ कित्ता सेयर छुट्याइएकोमा १० जना कर्मचारीहरुबाट ९५९८ कित्ताका लागि मात्र आवेदन गरेकोमा सोही अनुसार बाँडफाँड भएको छ । 

यस्तै, ३३ हजार ५६५ जना आवेदकहरुबाट १० कित्ताका लागि माग भए बमोजिम माग अनुसार सबै आवेदकहरुलाई सोही बमोजिम ३ लाख ३५ हजार ६५० कित्ता सेयर बाँडफाँड गरिएको छ । 

यस्तै, ११ हजार ४८२ आवेदकले २० कित्ताका लागि माग गरेकोमा माग अनुसार नै  सबै आवेदकलाई २ लाख २९ हजार ६४० कित्ता सेयर बाँडफाँड गरिएको छ । 

यसैगरी, ३० कित्तादेखि ९६२० कित्तासम्म सेयर माग गरी दरखास्त दिने जम्मा ३७ हजार ६२७ जना आवेदकहरुलाई २० कित्ताको दरले ७ लाख ५२ हजार ५४० कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको ३ लाख ३५ हजार ३१० कित्ता सेयर संलग्न बमोजिमको बाँडफाँड तालिका अनुसार ३७६२७ आवेदकहरुमध्ये ३३ हजार ५३१ आवेदकलाई पुनः १० कित्ताको दरले जम्मा ३ लाख ३५ हजार ३१० कित्ता बाँडफाँड गरिएको छ । 

यसरी हेर्दा पाँचथर पावरको आइपीओमा १० देखि २० कित्तासम्म आवेदन गर्ने सबै आवेदकले माग अनुसार सेयर पाएका छन् । ३० देखि ९६२० कित्तासम्म सेयर माग गर्नेमध्ये सबै आवेदकले २० कित्ता र गोलप्रथाबाट छनौट भएका ३३ हजार ५३१ आवेदकले थप १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । 

कम्पनीको आइपीओमा ३३ लाख ८१ हजार ८६० कित्ताका लागि आवेदन परेको थियो । ८२ हजार ७४१ जनाले सेयर खरीदका लागि आवेदन दिएका थिए । यसमध्ये ६७ वटा आवेदन रद्ध गरिएको थियो ।