रामपुर(पाल्पा) । खडेरीले गाउँमा पानीको हाहाकार भएपछि मदनपोखरा छापका कृषकले दूध बेचेको रकमले पानी किनेर पशुपालन व्यवसाय चलाउँदै आएका छन् । 

यहाँका कृषकलाई व्यवसाय गर्न खडेरीका बेला हरेक वर्ष चैत, वैशाख र जेठमा दूध बेचेर पानी किन्नुपर्ने बाध्यता छ । 

परिवारको दिगो आयआर्जनको पशुपालन व्यवसाय बनाएका यहाँका कृषकले दैनिक ३० लिटरदेखि १०० लिटरसम्म एक घरपरिवारले दूध उत्पादन गरेर बिक्री गर्छन् । दूध बेचेर लिएको आम्दानीले एक घरपरिवारले दैनिक ३०० देखि एक हजार लिटरसम्म पानी किन्ने गरेको अगुवा कृषक बलबहादुर सिंजालीले बताए । 

पिउने पानी र गाईवस्तुका लागि प्रतिलिटर रु एकमा पानी किन्ने गरेको उनीहरू बताउँछन् । कृषक कुलबहादुर नगरकोटी भन्छन–‘दैनिक ५०० लिटरभन्दा बढी पानी किन्नुपर्छ। दूध बेचेको रकम पानीमै खर्च हुन्छ।’ नगरकोटीले नौ वटा गाईबाट दैनिक ५० लिटरसम्म दूध बिक्री गर्छन । 

माया खाँड पनि दैनिक ४०० लिटर पानी किनेर गाईपालन व्यवसाय गरेकी छिन् । पानीको समस्याले गर्दा व्यवसाय बढाउन मन भए पनि बढाउन नसकिएको उनले बताइन । उनले सात वटा गाईबाट दैनिक ३०÷४० लिटरसम्म दूध बिक्री गर्छिन । 

दूध बेचेर लिएको आम्दानीबाट यहाँ दैनिक चार ट्याङ्करभन्दा बढी पानी भित्रने गर्दछ । गाउँ नजिकै मूल, कुवा र अन्य पानीका स्रोत नहुँदा यहाँका कृषकले दिनहुँ पानी किनेर व्यवसाय गर्न समस्या भएको बताउँछन् ।

दूध बेचेर जीविका चलाउनका निम्ति छाप गाउँका सबै कृषकले हिजोआज गाईपालन व्यवसाय अपनाएका छन् । पानीको आपूर्ति सहज भएको खण्डमा यस गाउँलाई दूध उत्पादनको नमुना पकेट क्षेत्र बनाउन सकिने पशुसेवा केन्द्र मदन पोखराका पशुस्वास्थ्य प्राविधिक शेरबहादुर रानाले बताए ।