काठमाण्डौ । पान नम्बरको बिषयमा छरिएको भ्रम चिरिँदै गएपछि लगानीकर्तामा मनोबल बढ्न थालेको छ । सेयर खरीद गर्दा स्थायी लेखा नम्बर(पान नम्बर) अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था आगामी बैशाखदेखि लागू गर्ने तयारी गरिएको छ । तर, यो विषयमा त्रास फैलाउने गरी हल्ला हुँदा बजार घटे पनि मिडियाहरुले यस्तो हौवाको पछि लाग्न नहुने बिषयलाई प्राथमिकताका साथ प्रचारप्रसार गरेपछि लगानीकर्ताको भ्रम चिरिँदै गएको हो । यस्तै, नेप्से र धितोपत्र बोर्डले समेत पाननम्बरको बिषयमा भ्रमित नभई लगानी गर्न आह्वान गरेका थिए । यिनै मूभमेन्टको प्रभाव सोमबारको सेयर बजारमा देखिएको छ । 

अघिल्लो दिन पाननम्बरको आतंकका कारण लगानीकर्ता अत्तालिँदा दोहोरो अंकले घटेको बजार सोमबार भने थामिएको छ । यो दिन नेप्से परिसूचकमा २.७९ अंकको बढोत्तरी भएको छ । 

यो दिन सेन्सेटिभ इण्डेक्स ०.६५ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२६ अंकले बढेको छ । 

बजारमा ४ समूहको सूचकमा रातो पोतिएकोछ भने बाँकी ६ समूहको सूचक बढेको छ । 

बैंकिङ समूह ०.९९ अंकले बढेको यो दिन विकास बैंक समूह ८.६१ अंक, जलविद्युत समूह ०.७८ अंक, निर्जीवन बिमा समूह ७२.४ अंक, जीवन बिमा समूह १९.८६ अंक र माइक्रोफाइनान्स समूह १७.५९ अंकले बढे । 

यो दिन होटल समूह १.५६ अंकले घटेको छ भने जलविद्युत समूह ०.०२ अंक, उत्पादनमूलक १४.७८ अंक र अन्य समूह ०.९४ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १ सय ६५ कम्पनीका ८ लाख ७१ हजार ८ सय २८ कित्ता सेयर २२ करोड ४३ लाख १६ हजार ५ सय २७ रुपैयाँमा कारोबार भएको छ । 

यो दिन सबैभन्दा बढी सिभिल बैंकको १ करोड ९५ लाख बढीको संस्थापक सेयर किनबेच भयो । अपर तामाकोशीको १ करोड ७२ लाख बढीको कारोबार भएको बजारमा नेपाल बैंक लिमीटेडले १ करोड ३० लाख, जनता बैंक नेपालले ८७ लाख, एनएमबी बैंकले ८४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ७६ लाख, प्राइम कमर्सियल बैंकले ७३ लाख, मेरो माइक्रोफाइनान्सले ६७ लाख, प्रभू बैंकले ६४ लाख र नागरिक लगानीकोषले ५३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सपोर्ट माइक्रोफाइनान्स लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागी १० प्रतिशतको हाराहारीमा बढ्यो । 

महुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । 

यो दिन हाथ्वे फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।