– अन्त्य सुन्दर

काठमाण्डौ । कोरोना जोखिम अहिले पनि उच्च छ। दैनिक हजारौँ संक्रमित थपिँदै गएका छन्। 

सरकारले २५ जनाभन्दा बढी भेला नहुनु, जोरबिजोर, अनावश्यक भेला नगर्नुलगायत अन्य थुप्रै स्वस्थ मापदण्ड पालना गर्न बारम्बार नागरिकलाई झक्झकाइरहेको छ। तर, कोरोनाको जोखिम उच्च हुँदा–हुँदै नेपाल सरकारको परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित राहदानी विभागको दृश्य हेर्दा नेपालमा कोरोना नै छैन भन्ने झल्को देखिन्छ। कर्मचारीतन्त्र, ढिलो सेवा, अव्यवस्थित विभागको कारण बिहानदेखि घन्टौँसम्म लाइनमा बसेका सेवाग्राहीको पालो कहिले आउने हो भन्ने अत्तोपत्तो छैन।

राहदानी विभागको गेट अगाडि विदेश जान अत्यन्त जरुरी परेमा emergency@nepalpassport.gov.np मा ई–मेल गर्न भनेर ठूलो अक्षरमा सूचना राख्दै बोर्ड ठासिएको छ। तर, न त सेवाग्राहीलाई  ई–मेलको समयमा राहदानी विभागबाट जबाफ आउँछ। न त ई–मेलको जबाफ लिएर राहदानी विभाग जानेहरुको समयमा काम नै हुन्छ।

मोरङकी सुजना कार्की ५ दिनदेखि राहदानी विभागमा गरेको ई–मेलको जवाफ नआएको बताउँछिन्। ‘देशमा गरी खान पनि दिँदैनन्। विदेशमा गएर गरी खान्छु भन्दा पनि यस्तो अवस्था छ’, आक्रोश पोख्दै कार्की भन्छिन्, ‘बिहानदेखि केही खाएको छैन। सधैँ भोलि आउनु भन्ने जबाफमात्र आउँछ। कोरोना सर्छ कि भनेर डराइडराइ भीडमा उभिनु परेको छ।’

भोजपुरका भोजराज घिमिरे साउदी जान भनेर राजधानी आएका छन्। ‘जिल्लाबाट सिफारिस लिएर सबै प्रक्रिया पूरा गरेर राहदानी लिन आएका घिमिरेको पासपोर्ट कहिले बन्ला भन्ने टुंगो छैन। घिमिरे भन्छन्, ‘गेटमा बसेका प्रहरी जवानले विदेश जाने टिकट कि त ई–मेलको रिप्लाई ल्याउनु अनिमात्र भित्र जान पाइन्छ भन्छन्। टिकट कोरोनाले गर्दा दिएको छैन। अनि ई–मेलको रिप्लाई कहिले आउने हो पत्तो छैन।’

त्यस्तै म्याग्दीका सुकमित शर्मालाई राहदानी विभागले पासपोर्टका लागि आजको मिति दिएको थियो। तर, पनि सुकमित गेटभित्र पस्न भने पाएका छैनन्। 

राहदानी विभागको गेट १२ बजे नै बन्द भएको छ। त्यहाँ उपस्थित प्रहरी जवानले केही सीमित व्यक्तिलाई मात्र प्रवेश गर्न दिएको दृश्य देखिन्थ्यो। शर्मा भन्छन्, ‘एक दिनमा ७०० जनाको मात्र काम हुन्छ भनेर हामीलाई पस्न नै दिएका छैनन्। कोरोनाले गर्दा समस्या आएको भन्ने जबाफ आउँछ। कति दिनसम्म यसरी उभिनु पर्ने हो थाहा छैन।’

नारायणगढका लोमश अधिकारी पासपोर्ट बनाउन काठमाण्डौ आएको ३ दिन भयो। उनी हरेक दिन राहदानी विभागको गेटमा घन्टौँ बस्दै फर्किंदै आएका छन्। आएल्ट्स गरेर अस्ट्रेलिया जाने तयारीमा रहेका अधिकारी भन्छन्, ‘परीक्षाको मिति लिनका लागि पासपोर्ट चाहिन्छ। त्यसपछि परीक्षाको मिति आउन ४–५ महिना लाग्छ। कहिले पासपोर्ट लिने, कहिले परीक्षाको मिति लिने र कहिले विदेश जाने हो भनेर अलमलमा छु।’

अधिकारी भन्छन्, ‘यहाँ कसैको आधी घन्टामै ई–मेलको रिप्लाई आउँछ। कसैको ७–८ दिन हुँदा पनि आएको छैन। सरकारी कार्यालयमा पौँच र ठाउँमा आफ्नो मान्छे नहुँदा सधैँ दुख हामी जस्तोले पाइन्छ।’ 

अधिकारीले राहदानी विभागमा बिचौलियाहरुले २० देखि २५ हजार लिएर काम गर्ने गरेकोसमेत बताए।

झापाका अनीश सिवाकोटी विगत केही दिनदेखि राहदानी विभाग धाइरहेका छन्। अस्ट्रेलिया जाने तयारीमा रहेका सिवाकोटी इमेलको रिप्लाई हातमा बोकेर बिहानदेखि राहदानी विभागको गेट अगाडि बसेका छन्। ‘हातमा ई–मेलको रिप्लाई हुँदा–हुँदै कर्मचारीले कोभिड छ। ८–१० पछि आउनु भनेर जबाफ आउँछ’, उनले भने, ‘विदेश गएर केही गर्छु भन्दा पनि देशको राहदानी विभागको अवस्था यस्तो छ।’

राहदानी विभागका प्रवक्ता शरदराज आरनका अनुसार तुरुन्तै पासपोर्ट चाहिने सेवाग्राहीको संख्या धेरै भएर समस्या आएको बताए। ‘सबैलाई पासपोर्ट आजको भोलि नै चाहिएको छ। त्यसैले समस्या देखिएको हो’, उनले भने।

‘सेवाग्राहीले गरेको ई–मेलको रिप्लाई किन ढिलो भएको हो?’ भन्ने प्रश्नमा आरनले झन्डै ३ हजारजनाले इमर्जेन्सी पासपोर्ट चाहिएको भनेर एकसाथ ई–मेल पठाएकाले ढिलो भएको भन्ने जबाफ दिए। उनी भन्छन्, ‘अहिले आएल्ट्स गर्दै गरेका सबैलाई तत्काल पासपोर्ट चाहिएको छ। सेवाग्राही आफैँले कोरोनाको जोखिम मध्यनजर गरेर बुझ्नुपर्ने बेला हो।’