-भक्तराज रसाइली

काठमाण्डौ । पिताको पदचाप पछ्याउँदै पारिवारिक माहौल र इच्छाशक्तिकै कारण धितोपत्र कारोबार व्यवसायी(ब्रोकर) बनेका हुन् एबीसी सेक्युरिटीज प्रा.लि.का कार्यकारी अध्यक्ष नितेश अग्रवाल । ब्रोकर नम्बर १७ का रुपमा रहेको एबीसीको प्रधान कार्यालय काठमाण्डौ २४, इन्द्रचोकमा  छ ।

सेयर ब्रोकर पेशामा आउनुअघि उनले अनलाइन शपिङ्ग बिजनेस गरेका थिए । त्यसपछि उनले पिताको साहारा बन्न र पारिवारिक बिँडो थाम्न समेत ब्रोकर पेशामा सक्रिय बने । पिताको काम सानैदेखि नियालेका उनी आफैंलाई पनि सेयर ब्रोकर बन्ने इच्छा थियो । 

स्नातक तहमा अध्ययनरत भएकै बेला बुवा सज्जनकुमार अग्रवाल(स्व.)को प्रेरणाले पूँजीबजारमा ब्रोकरको रुपमा उनी आफ्नै कम्पनीमा आबद्ध भए । अग्रवाल २०६३ सालदेखि यही पेशामा सक्रिय छन् । उनी वित्तशास्त्रमा एमबीए उत्तीर्ण हुन् ।

ग्राहककेन्द्रित र उच्च व्यवसायिक नैतिकतामा रहँदै सेवामुखी व्यवसायमा रम्न पाएको दाबी गर्ने अग्रवाले बजार खुलेका बेला ग्राहकलाई खरिदबिक्रीमा आवश्यक आधारभूत तथा प्राविधिक विश्लेषण समेत गरिदिएर सहयोग गर्ने गरेका छन् ।

सन्तुष्ट सेवाग्राही र राम्रो ख्याति नै एबीसी सेक्युरिटीजको बलियो पक्ष भएको दाबी गर्ने अग्रवालले साविक खण्डेवाल स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि. २०५४ सालमा किनेर २०६६ सालमा हालको नाम कायम गरेको बताए । उनको ब्रोकरेज हाउसमा २ जना प्रमोटर छन् भने हाल चुक्तापूँजी ५ करोड रहेको छ । 

कम्पनीमा ४ करोड ७१ लाख रिजर्भ रहेको छ । मुख्य कार्यालयमा १८ जना र शाखा कार्यालय धरानमा ६ जनासहित जम्मा २४ जना कर्मचारीहरु कार्यरत छन्।

विराटनगर, वीरगञ्ज, बुटवल, नारायणघाट, धनगढी, नेपालगञ्ज, जनकपुर र भक्तपुरमा शाखा विस्तारका लागि नियामक धितोपत्र बोर्डमा आवेदन दिएको अग्रवालले जानकारी दिए ।

वि.स. २०७१ साल पुस ७ गते धितोपत्र बोर्ड र माघ २८ गते सिडिएसबाट लाइसेन्स प्राप्त उनको एबीसीमा डीपी सेवामा व्यक्तिगत ८ हजार ६ सय र संस्थागत डीपी खाता रहेको जानकारी दिए ।

उनको सेक्युरिटीजमा कुल कारोबारी खाता ९ हजार छ, जसमा संस्थागत खाता ३ सय ३० रहेको छ । दैनिक सक्रिय लगानीकर्ता ७० जना औसत रहेकोमा दैनिक ४० जना अफिसमा आउने गरेका छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म उनको कम्पनीबाट २ अर्ब ४२ करोड रकम बराबरको १८७ कम्पनीको सेयर कारोबार भएको छ । 

एबीसी सेक्युरिटीजमा नियमित धितोपत्र खरिदबिक्री, डीपी सेवा, समयमै भुक्तानी लगायतका सेवासुविधा रहेको र आवश्यकतानुसार घरदैलो सेवाको समेत विशेष सुविधा दिइरहेको अग्रवालले बिजशालालाई बताए । 

उनको  कार्यालय समय बिहान ९ः३० बजेदेखि बेलुकी ५ः३० बजेसम्म भएतापनि बेलुकी ७ बजेसम्म नै सेवा दिइने गरिएको प्रष्ट पारे । 

यसका अलावा सेवाग्राहीका लागि नै भनेर घरायसी नामसारी, मृत्यु नामसारी लगायतका काममा पनि समन्वय गर्न बेग्लै कर्मचारी  खटाइएको उनको दाबी छ ।

पूँजी बजारको विकास केही हदसम्म भएकै मान्ने अग्रवालले धितोपत्र बजार २५ वर्षदेखि विकास हुन नसकी उस्ताको उस्तै भएको आरोप लगाए । 

प्राथमिक बजारमा केही सुधार भए तापनि दोस्रो बजारमा बृहत रुपमा काम नभएको उनको गुनासो छ । 

पूँजीबजारलाई डाइनामिक इण्डष्ट्री  भन्न रुचाउने अग्रवालले इन्नोभेसन हुन अत्यन्त जरुरी रहेको औंल्याए । 

‘ब्रोकरेज सर्भिसमा अन्य क्षेत्रमा जस्तो नयाँ प्रडक्टस खोई ?’ उनले प्रश्न गरे।

नेप्सेको निजीकरण हुनुपर्ने उनको धारणा छ । ‘नेप्से निजीकरण  भएपछि उसको कोर नै प्रफिट हुन्छ।’  अग्रवालले भने–‘नयाँ नयाँ कुरा ल्याउँछ, यसका लागि व्यवस्थापनले नै नयाँ प्रडक्टमा जोड दिने भएकोले सोहीअनुसार काम हुन थाल्छ ।’

अर्को स्टक एक्सचेञ्ज खोलेर समाधान नहुने बरु निजीकरण भएपछि प्रोफेसनल मेकानिजमका आधारमा काम अगाडि बढ्ने उनको धारणा छ ।
मुलुकको समग्र विकासका लागि पूँजी बजारको उल्लेखनीय भूमिका र चौतर्फी फाइदा हुने अग्रवालको भनाई छ । 

बजारका सम्बद्ध सरोकारवाला निकाय, ब्रोकर लगानीकर्ता लगायतमा सोंच राम्रो भए स्वतः बजार विस्तार हुने उनी बताउँछन् । बजारसँग जोडिएका सबै पक्षमा शुद्धिकरणको आवश्यकता उनले औंल्याए ।

नियामकीय शुल्क तिर्न धितोपत्र बोर्डमा ढिलाइ भएका कारणले १ दिन कारोबार रोक्का भई कारबाही परेको समेत अग्रवालले सुनाए ।

पूँजी बजारका संरचनाहरुमा व्यापक धाँधली भएकाले संरचना परिवर्तन हुन जरुरी रहेको र पुर्नसंरचनाका लागि सोंच बदल्न आवश्यक भइसकेको उनको भनाई छ । उनले थपे–‘बजारको जोखिम चिनेर लगानी गर्दा सेयरबजार एकदमै राम्रो फिल्ड हो, तर यसका लागि धैर्यता हुन आवश्यक छ । पैसा कमाउन अप्ठ्यारो क्षेत्र हो, तर अध्ययन राम्रो तरिकाले भएमा उपयुक्त ठाउँ पनि पूँजीबजार नै हो।’

साना–साना रकम वा बचत समेत दीर्घकालीन उद्देश्य प्राप्तिका लागि परिचालन गर्ने सहज ठाउँ सेयरबजार रहेको र बजार जोखिमलाई मध्यनजर गर्दै लगानी गरिए यसले सम्पत्ति सिर्जना र अभिवृद्धिमा सकारात्मक भूमिका खेल्ने बताए । 

लगानीकर्ताका आँखामा ब्रोकर नम्बर १७ 
शैलेन्द्र के.सी.(५६ वर्ष )सक्रिय लगानीकर्ता -ठैथी ,काठमाण्डौ
करिब १० वर्षदेखि सेयर बजारमा लगानी गरिरहेको छु । १७ नम्बरबाट चाहिँ कारोबार गरेको लगभग ५ वर्ष जति भयो । सबै ब्रोकरकहाँ  उस्ताउस्तै सुविधा  हुन्छ । यहाँको वातावरण मलाई मन पर्छ । १० नम्बरमा ८ नम्बर दिन चाहन्छु ।

गंगाराम मिश्र(४० वर्ष)भू.पू.होटल मेनेजर-नुवाकोट
वि.सं.२०७० सालदेखि सेयरमा सक्रिय छु । १७ नम्बरमा म स्थापनाकालदेखिकै नियमित सेवाग्राही हुँ । राम्रो छ, ठीकै लागेको छ यहाँको ब्रोकर सुविधा । तर कहिलेकाहीं बजार बढेका बेला बेच्न समस्या हुने गरेको छ । अनलाइन व्यवस्थित भए सहर्ज कारोबार गर्न सकिन्थ्यो । म एबीसीलाई १० नम्बरमा ७ नम्बर दिन्छु ।

कान्छा महर्जन(४८ वर्ष) व्यापार-ठमेल, काठमाण्डौ
एकदम राम्रो सेवासुविधा छ । केही त्यस्तो खासै गुनासो  र इच्छा छैन ।