काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन अर्थात आज भदौ १ गतेसम्म साढे ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

यो कम्पनीले हिजो साउन ३१ गतेबाट १०० अंकित दरका कुल २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ बिक्री खुला गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। 

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज साँझ ६ बजेसम्म यो आईपीओमा ७ लाख १२ हजार २४ आवेदकबाट ८१ लाख ९६ हजार २५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.५७ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ। गोलाप्रथाबाट भाग्यमानी २ लाख २९ हजार ४६८ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनैमध्ये भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

यो आईपीओमा आउँदा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था कम्पनीले गरेको छ। 

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो।