काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड गरिएको छ।

पिपुल्स पावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो २ बजे राखिएको थियो। 

यो कम्पनीले गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी २२ लाख ९४ हजार ६८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्। 

क्यापिटलका अनुसार यो आईपीओमा १५ लाख ५६ हजार ५२५ आवेदकबाट कुल १ करोड ६९ लाख ७० हजार ६२० कित्ता सेयर माग भएको थियो। जसमध्ये १५ लाख ५१ हजार ४१३ आवेदकबाट परेको १ करोड ६९ लाख १० हजार ६२० कित्ता सदर भएको छ भने ५ हजार ११२ आवेदकबाट परेको ६० हजार कित्ता बदर भएको छ। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। 

यो हिसाबले कुल सदर आवेदकमध्ये १३ लाख २१ हजार ९४५ आवेदकको हात खाली हुने देखिन्छ।

पिपुल्स पावरको आईपीओको नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको नतिजा पिपुल्स पावर र प्रभु क्यापिटलको वेबसाइटका साथै सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।