काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज दिउँसो बाँडफाँड गरिएको छ। 

पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ४ बजे राखिएको थियो। 

कम्पनीले गत कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गरेको थियो। यसमा आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तामा समावेश गरिएको थियो। 

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको थियो । बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

यो आईपीओमा १२ लाख ३० हजार ६०३ आवेदकबाट १ करोड ३८ लाख ४४ हजार ९०० कित्ता सेयर माग भएको थियो। जसमा १२ लाख २७ हजार ५९ आवेदकबाट परेको १ करोड ३७ लाख ८५ हजार २२० कित्तामात्रै सदर भएको छ। बाँकी ३ हजार ५४४ आवेदकबाट परेको ५९ हजार ६८० कित्ता बदर भएको छ। 

यो आईपीओ मागभन्दा २.६८ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी ५ लाख १५ हजार ७८८ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये ७ लाख ११ हजार २७१ आवेदकको हात खाली भएको छ। 

यो आईपीओ अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटमा र सीडीएससीको https://iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।