– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपालको सेयर बजारमा प्राविधिक विश्लेषणको प्रयोग हुन थालेको धेरै भएको छैन। कतिपय लगानीकर्ताले प्राविधिक विश्लेषणलाई अझै पनि विश्वास नगरेको पाइन्छ।
यथार्थमा प्राविधिक विश्लेषण सेयर बजारमा एक रणनीतिक औजार हो। यो संसारभरि नै प्रयोगमा आएको हुन्छ। तर, यो नै अन्तिम विकल्प भने होइन। यसले लगानीकर्ताको मनोविज्ञान र व्यवहारलाई मूल्यांकन गर्ने भएकोले कुनै एक समय र परिस्थितिमा गरिएको विश्लेषण कुनै अवस्था परिवर्तन भएमा नमिल्न पनि सक्छ।
यो साता सेयर बजारमा पहिलो कारोबार दिन आइतबार केही करेक्सन भएको छ भने दोस्रो दिन सोमबार सामान्य अंकको बढोत्तरी भएको छ। कारोबार भने हिजोको तुलनामा आज केही घटेको देखिन्छ। प्राविधिक हिसाबले दीर्घकालीन रुपमा बजार बुलिस नै देखिन्छ भने अल्पकालमा केही औजारहरुले सामान्य करेक्सनको सम्भावना देखाएका छन्।
मैनबत्ती विश्लेषणका आधारमा
मैनबत्ती विश्लेषणअन्तर्गत सोमबारको बजारले इन्भर्टेड ह्याम्मर बनाएको छ (हेर्नुहोस् कालो एरो)। यदि यस्तो आकृति उच्च विन्दुमा बन्छ भने यसले बजारले बाटो परिवर्तनको संकेत गर्छ। आइतबारको बजारले रातो मारुबुजु क्यान्डल बनेको छ। यदि आगामी कारोबारमा पनि रातो क्यान्डल बन्छ भने बजार थप करेक्सनको सम्भावना हुन्छ। तर, बजार आओरली पिभट प्वइन्ट (२७५०) भन्दा माथि रहुन्जेल बजबुत नै रहेको मान्न सकिन्छ।
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
हालसम्मको सेयर बजारको चक्रलाई हामीले विभिन्न विकल्पमा हेर्छौं। विभिन्न विकल्पमा पनि सबैभन्दा बढी सम्भावना भएको विकल्पलाई हामीले पाठकसामु ल्याउने गर्छौं।
इलिअट वेभबाट हालसम्मको बजारलाई नियाल्दा अहिले इन्टरमिडियट डिग्रीको वेभ (५) कै यात्रामा सेयर बजारको चक्र चलेको हाम्रो अनुमान रहेको छ। यसभित्र पनि माइन डिग्रीका स–साना वेभ चल्ने भएकोले वेभ (i) लगभग २८८४ पुगेर करेक्सन भएको देखिन्छ। वेभ (ii) फिवोनासीको २६३४ सम्म र वेभ (iii) लगभग पहिलेकै रेकर्ड ३२२२ सम्म र वेभ (iv) ३०८० सम्म र पुनः वेभ (v) लगभग फिवोनासीको १.६१ प्रतिशतको वृद्धिले ३७०० सम्म पुग्न सक्ने सम्भावना रहेको देखिन्छ। यहाँनेर हामीले विभिन्न सम्भावनामा हालससम्म भ्यालिड रहेको एउटा सबैभन्दा धेरै सम्भावना बोकेको विकल्पलाई पाठकसमक्ष प्रस्तुत गरेका हौँ। (मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २७८८ सम्म, ०.३८ प्रतिशतको टेवा २७३४ सम्म तथा ०.५ प्रतिशतको टेवा २६८० सम्म र ०.६१ प्रतिशतको टेवा २६३४ सम्म बजार आउन सक्ने देखिन्छ।(जुन तस्बिरमा हेर्न सकिन्छ)
एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई २० अक्टोबर २०२१ मा तलबाट काटेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। हिस्टोग्राम सकारात्मक र क्रमशः छोटा–छोटा बन्दै गएका छन्। यो आधारमा बजारमा हालसम्म खरिद तथा बिक्री सन्तुलनमा नै रहेको देखिन्छ। हिस्टोग्राम क्रमशः घट्दै गएकोले निकट भविष्यमा बियरिस क्रसओभरको सम्भावना पनि देखिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा हालसम्म मूल्य रेखा मध्य रेखाभन्दा माथि नै रहेर कारोबार भएकोले बजार मजबुत नै रहेको भन्न सकिन्छ। यदि आगामी कारोबारमा यो तहभन्दा तल आएर राता क्यान्डलहरु बन्छन् भने बजारमा बिक्री चाप पनि पर्न सक्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई न्युट्रल जोन अर्थात ५२ मा रहेको छ। अघिल्लापटक न्यून विन्दु ४५ मा आएर फर्केको छ भने उच्च विन्दु ६० को तहमा पुगेर प्रतिरोध गरेको देखिन्छ। यो आधारमा पनि बजार हाल साइडवेजमा चलेको मान्न सकिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २७५०
घटेमा सपोर्ट
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago