काठमाण्डौ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाण्डौ उपत्यकाका ५ हजार मानिसको कोभिड–१९ को पीसीआर परीक्षण गर्नका लागि नमुना संकलन गरेको छ।
महाशाखाले बिहीबारदेखि उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालयजस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमुना संकलन गरिरहेको छ। महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउनका लागि नमुना संकलन गर्न थालिएको जानकारी दिए।
महाशाखाको टोलीले विभिन्न ठाउँमा रहेका ती कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको नमुना संकलन गरेको छ। महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमुना संकलन गरिने बताए।
अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाको डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिनेछ। यस्तै बैंक, मालपोत– नापी जस्ता कार्यालयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारीको नमुना संकलन गरिनेछ।
उपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले परीक्षणको दायरा बढाएको हो। महाशाखाका वरिष्ठ वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले पाँच दिनसम्म ती कार्यालयमा काम गर्ने व्यक्तिको नमुना संकलन गरिसक्ने बताए। महाशाखाले बिहीबार कलङ्की, वनस्थली, चाबहिल र भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमुना संकलन गरेको थियो।
यस्तै आज ललितपुरको भैँसेपाटी, काठमाण्डौका नयाँबानेश्वर र नयाँसडक तथा भक्तपुरमा गई टोलीले नमुना संकलन गर्दैछ। अधिकारीले दैनिक पाँच दिनसम्म एक हजारको दरले नमुना संकलन गरिने बताए।
केही दिनयता लगातार उपत्यकामा कोभिड–१९ का सङ्क्रमित भेटिएपछि जोखिम बढेको छ। केही दिनअघि एकैदिन उपत्यकामा ५४ सङ्क्रमित भेटिएका थिए।
यस्तै मुलुक बाहिरबाट आउने मानिसको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले नमुना संकलन गर्नेछ। सीसीएमसीले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमुना संकलन गर्नेछ।
सीसीएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गर्नेछ।
अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार १४५ जनाको परीक्षण गरिएको छ। यस्तै १६ हजार ५३१ जनामा सङ्क्रमण देखिएको छ।
RSS
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago