काठमाण्डौ । कोभिड १९ को संक्रमण पत्ता लगाउन भरपर्दो मानिएको पीसीआर परीक्षणमा मेडिसिटी अस्पताल लगायतका ८ स्वास्थ्य संस्थाले कालोबजारी गरेका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालयले भदौ अन्तिम साता नै सबै ल्याबहरुका लागि तोकेको रु. २ हजार भन्दा बढी परीक्षण शुल्क लिएर मेडिसिटी लगायतका अस्पताल तथा ल्याबहरुले कालोबजारी गरेका पाइएको हो । 

स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको तयार पारेको प्रतिवेदनमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएर मेडिसिटी लगायका ८ संस्थाले कालोबजारी गरिरहेको पाइएको हो । 

सोही प्रतिवेदनको आधारमा मन्त्रालय स्तरीय इन्सीडेन्ट कमाण्ड सिस्टमले मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, डिकोड ल्याब, स्टार अस्पताल, इन्टीपेड ल्याब, सिडिएल, बी एण्ड बी अस्पताल र सूर्या हेल्थ केयरले बढी शुल्क लिएर पीसीआर परीक्षण गरिरहेको पाइएको हो ।  

त्यस्ता संस्थालाई मन्त्रालयले एकपटकका लागि चेतावनी दिएको र उनीहरुले २४ घण्टाभित्र शुल्क समायोजन गर्नुपर्ने डा. गौतमको भनाई छ । 'शुल्क समायोजन नगरेकामा प्रयोगशालाको परीक्षण स्वीकृत खारेज गरी पत्राचार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय भएको छ ।'  गौतमले भने-'२०७७ भदौ २८ गते आइतबारको निर्णयबाट कोभिड १९ को पीसीआर सबै प्रयोगशालाका लागि सबै शुल्क जोडेर परीक्षण शुल्क २ हजार रुपैयाँ तोकिएकोमा सोभन्दा बढी लिने गरेका प्रयोगशालालाई कालोबजारी गरेको आधारमा प्रयोगशाला बन्द गराउने गरी गृहमन्त्रालय र वाणिज्य विभागमा कारबाहीका लागि लेखी पठाउने पनि निर्णय भएको छ ।' 

गौतमका अनुसार पछिल्लो समय परीक्षणको दायरामा नपरेकाहरुको पनि जथाभावी पीसीआर परीक्षण भइरहेको, मन्त्रालयले नतोकेका ल्याबहरुले पनि पीसीआर परीक्षण गरिरहेका, कतिपय ठाउँमा बिचौलियाहरुले पीसीआरको व्यापार गरिरहेका पाइएको भन्दै त्यस्ता उपर पनि मन्त्रालयले कडा कारबाही गर्ने चेतावनी दिए ।